• १६ चैत २०८०, शुक्रबार

गणतन्त्रकाे १५ वर्ष

स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भएकाे छ : डा. केसी

blog

काठमाडौं, जेठ १५ गते । वरिष्ठ चिकित्सक डा. केदारनरसिंह केसीका अनुसार नेपालमा गणतन्त्र आएपछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्न थालिएको छ । डा. केसीका अनुसार जनभावना, जनआंकक्षा अनुसार परिवर्तन हुन नसके पनि सेवागत र संस्थागत रुपमा स्वास्थ्य क्षेत्रमा परिवर्तन भएको छ । 

उहाँ भन्नुहुन्छ, “वि.स‌‌‍‌‍. २०६२/६३ पछिका जनआन्दोलनपछि आमूल परिवर्तन हुन्छ, रोगभोगले मर्नुपर्दैन भन्ने मनोभावना अनुसार परिवर्तन नभए पनि स्वास्थ्य क्षेत्रमा धेरै सकारात्मक परिवर्तन भएका छन् ”। 

गणतन्त्रका १५ वर्षमा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनलाई व्यवस्थापन गर्न सक्षम नेतृत्वको आवश्यक भएको डा. केसीको ठहर छ । 

उहाँ भन्नुहुन्छ, “जनआन्दोलनपछि स्वास्थ्य क्षेत्रमा जति परिवर्तन भएका छन् तिनलाई राम्रोसँग व्यवस्थापन गर्दै लैजाने हो भने मात्रै पनि संविधानमा उल्लेख भएजस्तै सबैले स्वास्थ्यमा आएको परिवर्तन अनुभव गर्न सक्छन् ।”

कार्यान्वयन नभए पनि नेपालको संविधान २०७२ ले आम नागरिकको मौलिक अधिकार भित्र पर्ने स्वास्थ्य र शिक्षा नि:शुल्क रुपमा पाउनुपर्छ भनेर लेख्नु स्वास्थ्य क्षेत्रमा भएको ठुलो उपलब्धि भएको डा.केसीको भनाइ छ । डा.केसीका अनुसार जनआन्दोलनपछि दुर्गममा भएका उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा परिणत हुनु, ७५३ गाउँपालिकामा नै स्वास्थ्य संस्था निर्माण कार्य सुरु हुनु सकारात्मक परिवर्तन हो । स्वास्थ्य संस्था वृद्धि भए पनि आवश्यक जनशक्ति उपलब्ध गराउन नसक्नु यसको नकारात्मक पक्ष हो । उहाँ भन्नुहुन्छ, “स्वास्थ्य संस्था वृद्धि भएका छन् तर जनशक्ति भने पुरानै जनशक्ति काम गर्न बाध्य छन् त्यसैले चाहेपनि गुणस्तरीय सेवा दिन सकिँदै‌न। ”

गरिब नागरिकले रोगबाट मर्न नपरो भन्ने आवारणका साथ स्वास्थ्य बीमा कार्यक्रम आउनु सकारात्मक परिवर्तन हो । 

उहाँ भन्नुहुन्छ, “स्वास्थ्य बीमा जुन सोचका साथ ल्याइयो त्यो सकारात्मक पक्ष हो । तर सोच अनुसार यो कार्यक्रम सबै जनतामाझ पुग्न सकेको छैन । यसलाई प्रभावकारी बनाउन धेरै कुरा सुधार गर्न आवश्यक छ ।” उहाँका अनुसार बालबालिकालाई पहिले सर्ने रोगविरुद्धकाे खोप छ वटा मात्रै दिँदै आएको थियाे । तर सरकारले जनआन्दोलन पछि खाेप पुन : विस्तार गरी राष्ट्रिय खोपमार्फत  १२ रोगविरुद्ध खोप दिँदै आएको छ । 

यसले बाल मृत्युदरलाई घटाउन उल्लेखनीय भूमिका खेलेको डा.केसीको भनाइ छ । मातृ मृत्युदर घटाउन दुर्गममा भएका गर्भवती महिलालाई हवाई माध्यमबाट उद्धार गर्नुका साथै धेरै आमा सुरक्षा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष  भएको डा. केसीको तर्क छ  । 

जनआन्दोलन पछि सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई अनिवार्य दुई वर्ष दुर्गममा सेवा दिने नियम बनाएको छ । यसका साथै लगभग दुई हजार मेडिकल कलेजबाट नेपालमा नै विशेषज्ञ चिकित्सकहरु उत्पादन हुँदै आएका छन्  । 

जनआन्दोलनपछि विभिन्न जटिल उपचारका साथै शल्यक्रिया नेपालमा नै सम्भव भएको छ । साथै नेपालमा नै अंग प्रत्यारोपण सम्भव भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याउनु पर्ने भए पनि नेपालमा स्वास्थ्य क्षेत्रको बजेट घट्दै जानु नकारात्मक पक्ष हो ।

डा. केसीका अनुसार स्वास्थ्य संस्थामा निर्देशक र उपकुलपति बनाउन योग्यता अनुसार नभई नातावाद र कृपावाद हाबी हुनु स्वास्थ्य क्षेत्रमा भएको नकारात्मक पक्ष हो । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भष्टचार बढ्दै जानु जनआन्दोलनपछि यसमा भएको नकारात्मक पक्ष हो । 

गणतन्त्र स्थापनापछि नेपाली स्वास्थ्य क्षेत्रमा के कस्ता उपलब्धि भएका छन् भन्ने विषयमा केन्द्रित भई वरिष्ठ चिकित्सक डा.केदार नरसिंह केसीसँग गाेरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद : 

भिडियो : मनोजरत्न शाही  ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।