धीरेन्द्रप्रसाद साह
राजविराज, असोज ३१ गते । दीपावली नजिकिँदै गर्दा सप्तरीका ग्रामीण बस्तीका महिलाहरु हुक्काहुक्की बोकेर सहर धाउन थालेका छन् । जिल्लाको मलेठ, दिघवा, जोलहरी, जमुनी, झल्ही, फर्सैठ, विषहरिया लगायतका गाउँका महिलाहरु बिहान सबेरैै हुक्काहुक्की बोकेर राजविराज, सहरतिर निस्कन छन् ।
यहाँको बजारमा हुक्काहुक्कीको माग एकाएक बढेको छ । उनीहरुले बनाएको एउटा हुक्काहुक्की १० देखि ५० रुपियाँसम्ममा बिक्री हुने गरेको छ । सस्तो मूल्यमा पाइने भएकाले ग्रामीणदेखि शहरी उपभोक्तासम्म यसमा आकर्षित हुने गर्छन् ।
फर्सैठका देवनारायण यादवका अनुसार हुक्काहुक्की परम्परागत रूपमा सनपाट (पटुवा वा जुट)को ठडरी (सन्ठी) र खर प्रयोग गरी बनाइन्छ । “पहिले–पहिले घर–घरमै बनाइन्थ्यो, अहिले धेरैले बजारमा किन्ने गर्छन्,” यादव भन्नुहुन्छ, “यसको माग तिहारमा मात्रै हुन्छ, किनकि यो केवल खेलौना होइन, संस्कृतिको एउटा अंश हो ।” अहिले मूल कृषक खेतीपाति गर्न छोडेर सहरमा बस्न थालेपछि यसको खेती पनि थोरै मात्रामा भइरहेको छ भने हुक्कापाति खरिद गरेर मनाउनु परिरहेको छ ।
गाउँघर बस्न छोडेको धेरै भयो, खेतीपाति पनि बटैयामा गरिरहेकोले सनपाटको खेती पनि कमै मात्रामा भइरहेको राजविराज निवासी डोमन साहले हुक्कापाति बनाउन आवश्यक सामग्री नुहँदा खरिद गर्नु परेको बताउनुभयो । आफु हुक्काहुक्की बनाउन सीप जानेको बताउँदै उहाँले भन्नुभयो, ‘‘नयाँ पुस्ताले हुक्काहुक्की बुझ्छन् की बुझुदैनन् भन्न गाह्रो छ ।’’
बायोबृद्ध शान्तिदेवीका अनुसार तिहारमा दीपावलीका दिन कुलदेवताको घरमा बालिएको दियोको आगो हुक्काहुक्कीमा सल्काएर चौबाटो, खेत, सार्वजनिक डगरमा खेल्ने चलन छ । “यो रमाइलो मात्र होइन, शुभ–अशुभको प्रतीक पनि हो । हुक्काहुक्कीमा आगो बलेको समय र दिशाले पनि भविष्यको सङ्केत दिन्छ भन्ने विश्वास छ,” उहाँ बताउनुहुन्छ ।
पुस्तौदेखि घरबाट दरिद्र भागोस्, शान्ति छाओस्, लक्ष्मीको वास होस् भन्ने विश्वासका साथ लक्ष्मी पूजा अर्थात् दिपावलीका दिन प्रत्येक घरको छानामाथि एक-एक वटा हुक्काहुक्की राखिने चलन रहेको ९० वर्षीय सीतावीप्रसाद साहले बताउनुभयो । हुक्काहुक्की बनाउने, बाल्ने र खेल्ने चलन केवल तिहारको रमाइलो मात्र होइन, नयाँ धान उत्पादनसँग पनि जोडिएको परम्परा हो ।
गृहिणी सीता साहका अनुसार, प्रत्येक घरको छानामा हुक्काहुक्की राख्ने र त्यसलाई ‘नेवान’ अर्थात् नयाँ धान खाने शुभ अवसरमा प्रयोग गर्ने परम्परा रहिआएको छ । “नेवानमा नयाँ धानको च्युरा कुट्दा वा भुट्दा दाउराको रूपमा हुक्काहुक्की नै प्रयोग गरिन्छ,” सीता साह बताउनुहुन्छ ।
यसरी हुक्काकुक्की बेच्ने र खरिद गरिने चलन भने सहर बजारमा मात्र भेटिने गरेको छ । ग्रामीण बस्तीका मानिसहरु सहरमा बसोबास गर्न थालेपछि उनीहरुको सन्तानलाई हुक्काहुक्की संस्कृतिप्रति चेतना जगाउन र निरन्तरता दिन सहरमा यसको व्यापार सुरु गरिएको श्यामकुमार यादवले बताउनुभयो ।
हुक्काहुक्की तिहारको खेलौना होइन, ग्रामीण जीवनशैली, संस्कार र कृषिसँग जोडिएको एक गहिरो सांस्कृतिक प्रतीक हो । गाउँका महिलाहरुका लागि यो रोजगारीको अवसर पनि हो । तिहार आउँदा उनीहरु आफ्नै हातले बनाएको परम्परागत वस्तु बेचेर घरको खर्च टार्ने गर्छन् ।
एउटा वा घरमा छोरा भएको सङ्ख्या जति छुट्टाछुट्टै हुक्काहुक्की मुख फेर्न बनाएको हुन्छ । लक्ष्मी पूजाका दिन साँझ घरको जेठो छोरा वा सबै छोराले घरको देउता अगाडि बालिएको दीपबाट हुक्काहुक्कीको टुप्पोमा आगो सल्काएर मन्त्रोचारण गर्दै बाहिर डगर, चौरहा वा खेतमा गएर फेर्ने (खेल्ने) गरिन्छ, यसलाई नै हुक्काहुक्की भनिने गरिन्छ ।
त्यसपछि परिवारका अन्य सदस्यहरुले मात्र हुक्काहुक्की फेर्ने गरिन्छ । र सामूहिक रुपमा खेल्ने गरिन्छ । हुक्काहुक्की आधी जलेकै अवस्थामा भुईँमा राखेर तीन वा पाँच पटक नाँधेर बचेको भाग लिएर तरकारी बारीमा गाड्ने चलन रहेको छ । यसरी आधा जलेको हुक्काहुक्की खेतबारीमा गाडिएपछि राम्रो फल्ने, कसैको आँखा नलाग्ने जनविश्वास रहेको छ ।
ग्रामीण हस्तकलाको प्रतीक बनेको हुक्काहुक्की परम्परालाई जोगाइरहेको छ । हुक्काहुक्कीको घरबाट दरिद्रता भगाउन विश्वाससँगै गाउँको आत्मा र पुरखाहरुको आस्थाको अनुभूति गरिन्छ ।