• १३ वैशाख २०८१, बिहिबार

रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु हुँदैनः विश्वप्रकाश शर्मा

blog

प्रतिनिधि सभाको शनिबार बसेको बैठकमा आफ्नो धारणा राख्नुहुँदै सांसद विश्वप्रकाश शर्मा । तस्बिर: चन्द्रकला क्षेत्री/रासस

काठमाडौं, जेठ १३ गते। नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनुनहुने बताउनुभएको छ। 

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभयो। उहाँले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्नसके पनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताउनुभयो। 

उहाँले कांग्रेसका नेता यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गर्नुभयो। उहाँले मुद्दामा परेका कसैलाई पनि कांग्रेसले रोष्टममा उभिएर निर्दोष नभनेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोष्टममा उभिएर नक्कली भुटानी शरणार्थीको प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु। दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा पनि त्यो आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला। निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो। अन्यत्र होइन यही रोष्टममा उभिएर भन्नुभयो। को दोषी, को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ। सभामुख महोदय हामी न्यायाधीश होइनौँ, यहाँबाट फैसला सुनाउनका लागि। यो समय हामीले निर्दोष कोही नफसुन्, दोषी कोही नछुटुन्। यो बेला सरकारलाई साथ दिने समय हो, यो बेला सरकार बाहिरको दलले पनि सरकारलाई साथ दिने समय हो। समर्थन फिर्ता लिने बेला होइन। नेपाली कांग्रेसका नेताहरु यो भन्दा पहिला पनि भ्रष्टाचारमा जेल पर्नुभएको छ, अहिले पनि सामना गर्दै हुनुहुन्छ। तर रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा हामीले निर्दोष भन्यौँ, न आज भन्छौँ, केवल यति भन्छौँ, अनुसन्धान र न्यायिक प्रक्रियामा कसैले प्रभावित गर्नेगरी बोल्नु हुँदैन, देश हेरिरहेको छ।’’

महामन्त्री शर्माले समुन्नतिको केन्द्रमा नागरिकलाई राखेर अघि बढ्ने हो भने देश विकास हुन समय नलाग्ने बताउनुभयो।