• १३ असोज २०८१, आइतबार

सवारी भाडादर घटाएपछि यातायात बन्द

blog

इलाम झापा सिमाना जोरकलसमा यातायतका साधन रोक्दै बन्दकर्ता । तस्विरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), जेठ १३ गते । इन्धनको मूल्य घटेसँगै मेची राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनको भाडादर घटाएको विरोधमा शनिबार यातायात व्यवसायीले यातायात बन्द गरेका छन् ।

यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालय इलामले सरोकारवालासँगको समन्वयमा निर्धारण गरेको भाडादरमा असहमति जनाउँदै बन्द गर्दा शनिबार मेची राजमार्गमा यात्रु अलपत्र परेका छन् । प्रशासनले कार्यान्वयनमा ल्याएको भाडादर लागु गर्न नदिने भन्दै यातायात बन्द गरिएको छ । 

बन्दका कारण मेची राजमार्गको झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने सवारीसाधन छिटफुट मात्र चले पनि बन्धकर्ताले ठाउँठाउँमा रोकेर अवरोध गरेका छन् । केही दिनअघि मेची राजमार्गको भाडादर समायोजन गरी एकरूपता कायम गर्न इलाम, पाँचथर, ताप्लेजुङ र झापाका सरोकारवालाको संयुक्त बैठक इलाममा बसेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मेची राजमार्गको इलाम–बिर्तामोड खण्डको भाडादर ४२५ रुपियाँ निर्धारण गरेको छ । निर्धारण हुनुअघि व्यवसायीले पाँचसय रुपियाँ लिँदै आएका थिए । बैठकले इलाम–फिदिमको भाडादर चारसय रुपियाँ कायम गरेको छ ।

यसअघि इलाम–फिदिमको भाडादर चारसय १० रुपियाँ कायम गरिएको थियो । तर व्यवसायीले मनपरी भाडा उठाउँदै आएका थिए । मेची राजमार्गकै इलाम–ताप्लेजुङ खण्डको भाडा आठसय ९० रुपियाँ निर्धारण गरिएको छ । यसअघि सो सडकको भाडा नौसय रुपियाँ रहेकामा व्यवसायीले मनपरी ढङ्गले भाडा असुल गर्दैआएका थिए । 

इन्धनको मूल्य समायोजन पछि विभिन्न १३ सूचकका आधारमा भाडा दर समायोजन गर्ने गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले सबै चार जिल्लाकै यातायात व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल गरेर भाडा समायोजन गरिएको जानकारी दिनुभयो ।