• १३ असोज २०८१, आइतबार

पूर्व नगर प्रमुखहरूको सम्मानमा मेयर पार्क निर्माण हुँदै

blog

त्रियुगा नगरपालिका ४ बगाहास्थित सालघारी क्षेत्रमा मेयर पार्कको शिलान्यास गरिदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, जेठ १३ गते । उदयपुरको त्रियुगा नगरपालिकाले पूर्व नगरप्रमुखहरूको सम्मानमा पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा ४ बगाहास्थित माटेखाडी सालघारी क्षेत्रमा आईल्याण्डसहितको मेयर पार्क निर्माण सुरु गरेको छ । 

यसअघि सो क्षेत्रमा हरित पार्क निर्माण गर्ने भनी जग्गा संरक्षण गरिएको तर त्यस्तो पार्क निर्माण हुन नसकेपछि सोही स्थानमा अहिले रमणीय मेयर पार्क निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । 

कदमाहा गाईघाट मोटरबाटोसँगै जोडिएको सो क्षेत्र पर्यटकीय स्थलसमेत भएकाले त्यहाँ त्रियुगा नगरपालिकाका प्रथम नगरप्रमुख स्वर्गीय लालसेर राईको सम्मानमा अर्धकदको प्रतिमासहितको सुविधासम्पन्न मेयर पार्क निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

मेयर पार्क निर्माणको शनिवार एक कार्यक्रमबीच शिलान्यास गर्नुहुँदै त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्नेतले सो स्थानमा रहेको सिमसार क्षेत्रको संरक्षणसँगै यस किसिमको पार्क निर्माणबाट आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य रूपमा सहभागिता हुने र त्यसबाट यहाँका स्थानीय बासिन्दालाई आर्थिक र सामाजिक पक्षमा राम्रो फाइदा पुग्ने बताउनुभयो ।  

करिब आठ बिघा जग्गामा फैलिएको निर्माणाधीन मेयर पार्कभित्र निर्माण गरिने साङ्गीतिक कार्यक्रम स्थल, वनभोज कार्यक्रमस्थल, धार्मिक तथा पौराणिक महत्त्वका विभिन्न बस्तुहरूको आकृति, स्विमिङ् पोखरी, आवाससहितको विश्राम गृहसमेत बनाउने योजना रहेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार पर्यायपर्यटनको विकासका साथै पारिवारिक वातावरणमा गरिने रमाइलो उत्सव आदिका लागि आवश्यक सवै प्रकारको सुविधा सम्पन्न पार्क निर्माणका लागि योजना निर्माण गरी आवश्यक भौतिक संरचनाहरू बनाउने क्रम जारी रहेको छ ।

यो वर्ष शौचालय दुईवटा, सुरक्षाकर्मीका लागि आवास कोठा, भान्सा कोठा, टिकट घर, दुई ठुला पोखरीको बीचमा पानीको निकास प्रवाहका लागि होमपाइप जडान, ठूलो पोखरीको उत्तरतर्फ मन्दिर निर्माण, पूर्वतर्फ ईन्टरलक इँटा जोडेर रिङरोड निर्माण तथा सो क्षेत्रमा रहेको खाडलमा बाहिरको माटो ल्याएर पुर्ने काम समेत गर्न मूल्य अभिवृद्धि करसहित ३१ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सौभाग्य निर्माण सेवाका प्रोप्राइटर सरोज बस्नेतले बताउनुभयो ।

यसअघि माटेखाडी सालघारी हरित पार्क निर्माणका लागि भनेर अघिल्ला वर्षमा नै त्रियुगा नगरपालिकाले ४२ लाख ४९ हजार रुपियाँ र स्थानीय उपभोक्ता समितिका तर्फबाट सात लाख ५० हजार नगद जम्मागरी कूल ४९ लाख ९९ हजार रुपियाँको लागतमा चारैतर्फ पक्की पर्खाल बनाइएको वडा ४ का वडा अध्यक्ष बद्रीकुमार बस्नेतले बताउनुभयो ।

त्रियुगा नगरपालिकाको वडा ३ र ४ को सिमानामा अवस्थित मेयर पार्कको मुख्य आकर्षणका रूपमा रहेका आइल्याण्डसहितका दुईवटा पोखरी र यसमा विभिन्न प्रजातिका हाँस र पानीमा आहारा खोज्ने अन्य चराहरूलगायत पार्कभित्र हाल ३२ प्रजातिका चराहरू हेर्न सकिने भएकाले चराहरूको अध्ययन अनुसन्धान गर्नेहरूका लागि समेत यो पार्क अत्यन्त महत्त्वपूर्ण साबित हुने वडा ३ का वडा अध्यक्ष तिलक कटुवालले बताउनुभयो ।