• ९ मंसिर २०८१, आइतबार

महेन्द्रनारायण निधि क्रिकेट प्रतियोगिताको तयारी पूरा

blog

महेन्द्रनारायण निधि राष्ट्रिय टि—२० क्रिकेट प्रतियोगिताबारे जानकारी दिइँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ १३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जेठ १५ गतेदेखि २६ गतेसम्म हुने महेन्द्रनारायण निधि राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशको प्रमुख आर्थिक सहयोग र क्यानको सहकार्यमा मधेश प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

क्रिकेटका सात वटै प्रदेशका टिम सहभागी रहने उक्त प्रतियोगितामा जम्मा २२ वटा खेल हुनेछ । जनकपुरधामको निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको ग्राउण्डमा प्रत्येक प्रदेशका टिमले हरेक प्रदेशसँग खेल्नेगरी एउटा टिमले प्रतियोगितामा छ वटा खेल खेल्ने छ । लिक कम नक आउट सिस्टम अर्थात् प्रतियोगितामा प्राप्त गरेको खेल अङ्कको अाधारमा सबैभन्दा बढी अङ्क प्राप्त गरेका दुई टिमले प्रतियोगिताको फाइनल खेल खेल्ने क्रिकेट सङ्घ धनुषाका सचिव आशिष् झाले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेता टिमलाई तीन लाख र उपविजेता टिमलाई २ लाख नगदसहित ट्रफी प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्ला क्रिकेट सङ्घ धनुषाले समन्वयकारी भूमिका निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो । 

प्रतियोगिताको सोमबार हुने पहिलो उद्घाटन खेल मधेश प्रदेश र कोशी प्रदेशबीच हुने कार्यपालिका रहेको जिल्ला क्रिकेट सङ्घ धनुषाका सदस्य सरोज मिश्रले जानकारी दिनुभयो । प्रतियोगिताका लागि आवश्यक पर्ने ७० लाख बजेटमध्ये ४० लाख मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयले दिने र बाँकी रकमको जोहो विभिन्न ठाउँबाट भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

पत्रकार सम्मेलनमा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, प्रदेशसभा सचिवालय मधेश प्रदेशका निमित्त सचिव रञ्जित यादव, मधेश प्रदेश क्रिकेट सङ्घका अध्यक्ष हिरा भगत, जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेसहितकाको उपस्थिति थियो ।