• ११ पुस २०८१, बिहिबार

शैक्षिक भौतिक संरचना निर्माण प्राथमिकतामा

blog

शिक्षालयको शैक्षिक तथा भौतिक संरचनासम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरु । तस्बिर : नविन सुवेदी

नविन सुवेदी

सुर्खेत, जेठ १२ गते । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्राविधिक जनशक्ति उत्पादनको केन्द्र कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक भौतिक संरचना निर्माण प्राथमिकतामा परेको बताउनुभएको छ । बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

‘सरकारले शिक्षा क्षेत्रमा जोड दिँदैआएको छ । प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न शिक्षालयको विकासमा सरकारको विशेष जोड छ’ उहाँले भन्नुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षालयको शैक्षिक विकास तथा भौतिक संरचना मर्मतमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । 

दूरदराजमा स्थापित शिक्षालयलाई प्राविधिक जनशक्ति उत्पादनको केन्द्रका रुपमा रुपान्तरण गरी स्वरोजगार बढाउनेतर्फ जोड दिनुपर्ने चर्चा गर्नुभयो । कार्यक्रममा शिक्षालय प्रमुख टेकेन्द्र थापाले शिक्षालयको वस्तुगत अवस्थाबारे जानकारी गराउनुभयो । स्थापना भएको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिएको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य सङ्कायमा अध्ययन अध्यापन गरिरहेको जानकारी दिनुभयो । 

नर्सिङ पठनपाठनका लागि आफ्नै अस्पताल हुनुपर्ने शिक्षा नीतिमा उल्लेख भएकाले शिक्षालयमा नर्सिङ पठनपाठन हुन नसकेको उहाँको गुनासो छ । उहाँका अनुसार शिक्षालयको छ सय ५१ रोपनी जमिनमा ५८ भवन रहेको छ ।  तीमध्ये छ वटा निर्माण भएका छन् भने बाँकी ५२ भवन अझै जीर्ण अवस्थामा छ । 

‘प्राविधिक लागत अनुमानअनुसार आवासीय तथा शैक्षिक भवन निर्माणका लागि करिब १५ करोड रुपियाँ लाग्छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पाँच करोड बजेट प्रस्ताव गरिएको छ’ शिक्षालय प्रमुख थापाले भन्नुभयो ।  

अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही, विन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, जीतबहादुर मल्ल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटालगायतले उच्च जोखिममा रहेको शिक्षालयसहित कर्णालीमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधात्मक निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।