• ९ मंसिर २०८१, आइतबार

महोत्सवका लागि चलचित्र सार्वजनिक

blog

काठमाडौँ, जेठ ११ गते । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ ।

नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्यान्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघुचलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने जनाइएको छ ।

जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्र प्रदर्शन हुने छन् । महोत्सवको उद्घाटन वासिङ्टन डिसी र मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा समापन हुने जनाइएको छ  । आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट ओस्कार अवार्डका लागि छनोट भएको ‘ऐना झ्यालको पुतली’ को प्रदर्शनबाट उद्घाटन हुने छ । त्यस्तै अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेनको निर्देशनमा बनेको ‘पासाङ्स इन द स्याडो अफ एभरेस्ट’ को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने छ ।

स्थापनाकालदेखि सहकार्यरत ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई चलचित्र प्रदर्शन हुने र निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘दी सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुनेसमेत आयोजकले जनाएको छ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ । यस वर्षको निर्णायकमण्डल केही दिनमा सार्वजनिक गरिने छ । महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे समूहगत छलफल हुने छ ।