• ६ जेठ २०८१, आइतबार

अन्तर्राष्ट्रिय व्यापारबारे प्रशिक्षण

blog

काठमाडौँ, जेठ ९ गते ।  ‘अन्तर्राष्ट्रिय व्यापार तथा व्यापार नीति’ सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यशाला सुरु भएको छ । व्यापार नीति निर्माण, कार्यान्वयन र व्यापार वार्ताका लागि नेपालको क्षमता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै युरोपेली सङ्घको आर्थिक सहयोग अन्तर्गत इयु–नेपाल व्यापार तथा लगानी कार्यले नेपाल सरकारका वाणिज्य क्षेत्र सम्बद्ध अधिकारीहरूका लागि प्रशिक्षण सुरु गरेको हो । 

नेपाली व्यापार वार्ताकार र नीति निर्मातालाई विश्व व्यापार सङ्गठनभित्र विविध पक्षबारे जानकारी गराई बहुपक्षीय/द्विपक्षीय व्यापार वार्तामा उनीहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न सक्षम बनाउने उद्देश्यका साथ प्रशिक्षण सुरु भएको हो ।

कार्यशालामा नेपाली अधिकारीलाई अन्तर्राष्ट्रिय व्यापार र विश्व व्यापार सङ्गठनबारे नेपालको दृष्टिकोण, कृषिसम्बन्धी विश्व व्यापार सम्झौता, विश्व व्यापार सङ्गठन र खाद्य सुरक्षा, कृषि बजार पहुँच र निर्यात प्रतिस्पर्धासम्बन्धी विश्व व्यापार तथा अन्य अन्तर्राष्ट्रिय वाणिज्यका विषयमा परिचय गराइने छ । 

त्यस्तै विश्व एकीकृत व्यापार समाधान र नेपालको व्यापार तथ्याङ्क, व्यापार प्रवृत्तिको विश्लेषण, नेपालको विश्व व्यापार सङ्गठनका प्रतिबद्धता, विश्व व्यापार सङ्गठन विवाद समाधान संयन्त्र, अति कम विकसित देश (एलडिसी) स्तरोन्नतिसम्बन्धी मुद्दाहरू, सेवाहरूमा व्यापार सहजीकरण र विश्वव्यापी मूल्य शृङ्खला, सरोकारवालासँगको परामर्श र व्यापारसम्बन्धी बौद्धिक सम्पत्तिको अधिकारलगायतका विषय पनि कार्यशालामा समावेश छन् ।  

प्रयोगात्मक विधिमा जोड दिई सञ्चालन गरिने यस पाँचदिने कार्यशालाले विश्व व्यापार सङ्गठनसँग सम्बन्धित विषय र नेपाललाई पार्ने असरका विषयमा नेपाली अधिकारीको बुझाइको स्तरमा अभिवृद्धि गरी नेपालको व्यापार हित सुरक्षित गर्न र अति कम विकसित देशको स्तरबाट अपरिहार्य रूपमा स्तरोन्नतिपछि नेपालले सम्भावित चुनौतीको सामना गर्न आफूलाई तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यशालाले जल्दाबल्दा प्रमुख व्यापारिक मुद्दाहरूबारे सम्बन्धित अधिकारीको बुझाइको स्तरलाई अभिवृद्धि गरी नेपालको व्यापार प्रवर्धनका लागि उनीहरूको दक्षता बढाउने सहयोग पुुग्ने बताइएको छ । 

कार्यशालामा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले विश्व व्यापारमा धेरै नयाँ नयाँ परिवर्तन भइराखेका बेला नेपालले भोग्ने चुनौती र अवसरका बारेमा अद्यावधिक गराइने जानकारी दिनुुभयो । नेपालको परिप्रेक्ष्यमा कसरी उपयोग गर्नेबारे जानकारी दिलाउन यो जस्तो अन्तर्राष्ट्रियस्तरको कार्यशालाले नेपाली अधिकारीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उहाँको भनाइ छ । विश्व व्यापार झन् जटिल, प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बन्दै गएका बेला नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन गर्न थप क्षमता बढाउनुपर्ने अवस्था छ । 

नेपालले सन् २०२६ सम्ममा अति कम विकसित देश (एलडिसी) को स्तरबाट स्तरोन्नति हुने र अन्तर्राष्ट्रिय व्यापारका विशेषाधिकार गुमाउन सक्ने र त्यसबाट पुग्न जाने सम्भावित क्षतिबाट जोगिएर अन्तर्राष्ट्रिय व्यापार प्रणालीबाट लाभ सुरक्षित गर्न नेपालले व्यापार क्षमता, सिप र ज्ञानलाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ । अन्तर्राष्ट्रिय व्यापार प्रणालीमार्फत नेपालको व्यापार प्रवर्धन गर्न प्रभावकारी वार्ताका लागि नेपाली अधिकारीबिच विश्व व्यापार सङ्गठनलगायत बहुपक्षीय व्यापार प्रणालीसम्बन्धी ज्ञान र सिप अझै अपर्याप्त रहेको बताइएको छ ।  कार्यशालामा सेन्टर फर डब्लुटिओ स्टडिजका प्रशिक्षक मुरली कल्लुमल, शैलजा सिंह र डा सचिनकुमार शर्माले प्रशिक्षण दिइरहनुभएको छ ।