• १९ वैशाख २०८१, बुधबार

चीनको ताक्लाकोट जान पास लिने बढे

blog

राजन रावत 

हुम्ला, जेठ ९ गते । व्यापार व्यवसाय र रोजगारीका लागि दुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । 

गत वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुईतर्फी रूपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुम्लावासीको सङ्ख्या बढेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले हिल्सा नाका खुला भएको २१ दिनमा एक हजार ३० जना हुम्लावासीले सीमा पास लिएको बताउनुभयो । 

चीनसँगको सिमाना जोडिएको जिल्लाका स्थानीयले चीनले सिमानाभन्दा ३० किलोमिटर दूरीसम्म सीमा पासबाटै व्यापार व्यवसाय र रोजगारी गर्न जानका लागि अनूमति दिने भएका कारण यति बेला जिल्ला प्रशासन कार्यालयमा सीमा पास लिनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको हो । पास लिएकामध्ये सात सय जना हुम्लाका व्यापारी र रोजगारीका लागि ताक्लाकोटमा पुगिसक्नुभएको छ भने दैनिक ताक्लाकोट जाने क्रम  जारी रहेको छ । 

हुम्लावासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ । ताक्लाकोटमा नेपालबाट निकासी भएर गएको फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायतका सामान व्यापार हुने गर्छ भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री नेपालमा आयात हुने गर्छ । त्यसै गरी रोजगारीका लागि हुम्लावासीले विकास निर्माणको काम, होटल, रेस्टुराँ, पसल र व्यक्तिको घरमा काम गर्ने गर्छन् । 

कोरोनाअघि बर्सेनि दुई हजारभन्दा बढी हुम्लावासी रोजगारी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्थे । हुम्लावासीमा पनि विशेष गरी नाम्खा गाउँपालिकाका अधिकांश युवकयुवती रोजगारी र व्यापारका लागि ताक्लाकोट जाने गर्छन् । उनीहरूले २०७६ सालपछि कोरोनाको कारण सीमानाका हिल्सा बन्द भएका कारण यो पासबाट चीनको ताक्लाकोटसम्म जान नपाएको बताउँदै अहिले सीमा सञ्चालनमा आएपछि ताक्लाकोट जानका लागि सीमा पास लिने सङ्ख्या बढ्दै गएको बताए । यति बेला ताक्लाकोट जाने हुम्लावासी सात महिनापछि मङ्सिर महिनामा हुम्ला फिर्ता हुन्छन् ।