• १३ असोज २०८१, आइतबार

प्रदेश सांसदलाई ल्यापटप दिने योजनाप्रति एमालेको विरोध

blog

गोकुल पराजुली

विराटनगर, जेठ ८ गते । कोशी प्रदेशका हरेक सांसदहरूलाई ल्यापटप वितरण गर्ने योजनाको चौतर्फी विरोध भएपछि सत्तारुढ दल नेकपा एमालेले पनि उक्त योजना स्थगित गर्न प्रदेश सभालाई आग्रह गरेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ल्यापटप खरिद योजना स्थगित गर्न आग्रह गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभएको हो । 

"अहिलेलाई ल्यापटप वितरण गर्ने योजना आवश्यक नभएकोले उक्त योजना स्थगित गर्न संसद् सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेका छौँ," प्रमुख सचेतक भण्डारीले भन्नुभयो, "अघिल्लो आर्थिक वर्षमा सरकारले बजेट तथा कार्यक्रममा यो विषय उल्लेख भएको आधारमा सचिवालयले खरिद प्रक्रिया सुरु गरेको रहेछ त्यसमा हाम्रो धारणा सार्वजनिक गरेका हौँ ।" उहाँले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव रहेकोले अर्कोतर्फ बजेट खर्च नगरौँ भन्ने आफ्नो दलको धारणा रहेको बताउनुभयो । 

सांसदहरूसँग स्वकीय सचिवको सुविधा रहेकोले कम्प्युटरसँग सम्बन्धित काम गर्न जनशक्ति र दलको कार्यालयमा कम्प्युटरकै सुविधा भएकोले ल्यापटप आवश्यक नपर्ने भन्दै प्रमुख सचेतक भण्डारीले भन्नुभयो "ल्यापटप खरिद गर्न लागेको विषयमा वर्तमान सरकारप्रति भइरहेको आलोचना र टिप्पणीले हामीलाई दुखित बनाएको छ । यो वर्तमान सरकारले गरेको विषय होइन तर, एमाले र वर्तमान सरकारलाई यसमा जोडेर प्रचार भएको छ ।"

प्रदेश सभाका ९३ जना सांसद र सातवटा विषयगत समितिलाई एकएक थानका दरले ल्यापटप उपलब्ध गराउने गरी प्रदेशसभा सचिवालयले एक सय थान ल्यापटप खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । त्यस योजनाप्रति नेपाली काँग्रेस संसदीय दल तथा नेकपा माओवादी केन्द्रका सांसदहरूले असहमति जनाउँदै ल्यापटप अस्वीकार गर्ने जनाएका थिए । 

चालु आर्थिक वर्ष २०७९-८० मा ल्यापटप खरिद गर्ने योजना र बजेट व्यवस्था गरिएको छैन । तर, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनअघि रकमान्तर गरेर ल्यापटप खरिद गर्न एक करोड ५० लाख रुपियाँ बजेट व्यवस्थापन गर्नुभएको थियो । बजेट व्यवस्थापन भएसँगै संसद् सचिवालयले खरिद प्रक्रिया अगाडि बढाएको हो ।