• ६ जेठ २०८१, आइतबार

तामाकोशी–५ मा सञ्चय कोषको तेह्र अर्बभन्दा बढी लगानी

blog

काठमाडौँ, जेठ ८ गते । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको तामाकोशी–५ मा कर्मचारी सञ्चय कोष नेपाल, विद्युत् प्राधिकरण र तामाकोशी जलविद्युत् कम्पनीबिच त्रिपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ । आइतबार सम्पन्न ऋण सम्झौता अनुसार कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपियाँ ऋण लगानी गर्ने भएको छ । 

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कर्मचारी सञ्चय कोषका प्रबन्धक जितेन्द्र धिताल र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख विनोद भण्डारीले हस्ताक्षर गर्नुभएको छ । 

हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा खपत विस्तार निर्यात प्रवर्धनमार्फत सबैका लागि बिजुली, समृद्धिका लागि बिजुली र स्वच्छ वातावरणका लागि बिजुलीको लक्ष्य प्राप्त हुने बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठुला परियोजनामा लगानी गर्नुस्, बजार नहुने कुराको चिन्ता नलिनुस् भन्दै बङ्गलादेश र भारतमा वर्षायाममा विद्युत् बेच्न सकिने धारणा राख्नुभयो । उहाँले कर्मचारी सञ्चय कोषलाई अरुण जलविद्युत्मा लगानी गर्न पनि आग्रह गर्नुभयो । 

ऋणदाता कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले चिलिमे जलविद्युत् आयोजनाको सुरुवातदेखि आजसम्म आइपुग्दा ८१५ मेगावाटका लागि ७२ अर्ब लगानी भएको बताउँदै आयोजना समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।  

दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड आयोजनाका रूपमा रहने ९९.५ मेगावाट क्षमताको सो आयोजनामा ३० प्रतिशत स्वपुँजी र ६५ प्रतिशत ऋण लगानी गर्ने गरी प्रस्ताव लगानी संरचना तय गरिएको छ । हेडवक्र्सको काम नहुने भएकाले यो आयोजनामा लगानी कम गरे पुग्छ । आयोजनाका लागि निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपियाँ लागत अनुमान गरिएको छ । 

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ६८ प्रतिशत स्वामित्व रहने तय भएको छ । जनताको जलविद्युत् कार्यक्रमको संरचना अनुसार सो आयोजनामा सर्वसाधारणको सेयर १५ प्रतिशत, प्रभाव क्षेत्रका दोलखावासीको सेयर १० प्रतिशत, प्राधिकरण र आयोजनाका कर्मचारीको सेयर पाँच प्रतिशत र अति विपन्नसहित बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिका लागि दुई प्रतिशत सेयर निर्धारित 

गरिएको छ । 

आयोजना निर्माण २०७६ साउनदेखि थाल्ने २०८४ सालसम्ममा सम्पन्न गर्ने भनिए त्यो सम्भावना कम देखिएको छ । वित्तीय व्यवस्थापनको टुङ्गो लागेकाले आगामी आर्थिक वर्षमा निर्माण थाल्ने योजना कम्पनीको छ । आयोजना निर्माणका लागि अहिले कर्मचारी आवास कार्यालयलगायतका पूर्वाधार र पहुँच मार्ग बनाउने काम भइरहेको छ । 

जर्मन कम्पनी ट्र्याक्वेल इन्जिनियरिङले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन अनुसार यो आयोजनाका लागि छुट्टै बाँध बनाउनु पर्दैन । माथिल्लो तामाकोशीको टेलरेसबाट निस्केको पानीलाई ५.४ मिटर व्यासको आठ किलोमिटर लामो सुरुङबाट तामाकोसी–५ को भूमिगत विद्युत्गृहमा पानी पु¥याइने छ । दोलखाको सुरीदोभानमा रहेको विद्युत्गृहमा ३१.५ मेगावाटका तीन वटा र एउटा पाँच मेगावाट क्षमताको टर्वाइन जडान हुने छ । विद्युत्गृहमा १६२ मिटर अग्लो हेडरेसमार्फत पानी खसालिने छ । यसरी उत्पादित बिजुली माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकै सबस्टेसनमा पु¥याइने छ । यसका लागि २२० केभी क्षमताको ३.८ किलोमिटर लामो प्रसारण लाइन बनाउनु पर्ने हुन्छ ।