• ९ जेठ २०८१, बुधबार

बैँस नआएका लालीगुराँस

blog

चैत, वैशाख र जेठ महिनामा लालीगुराँस ढकमक्क फुलेर वनपाखा राताम्मे हुन्छन् तर यसपालि कतिपय ठाउँमा लालीगुराँसका बोट त देखिन्छन् तर फुलेका छैनन् । ढकमक्क फुल्ने लालीगुराँसलाई यस पालि किन बैँस नआएको होला ? 

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसका झाङ छन् तर गुराँसका झाङ हुन् कि होइनन् ठम्याउन मुस्किल पर्छ । पाथीभरा मन्दिर जाने–आउने तीर्थयात्री एकै छिन उभिएर यसो हेर्छन् र भन्ने गर्छन्– यसपालि गुराँस किन फुलेन ? 

लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रा गरेर ओर्लंदा मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले यात्रीमा एक प्रकारको ऊर्जा मिल्थ्यो । तीर्थयात्रीको मन लोभिन्थ्यो । यहाँ आउने सबैको मन आनन्दित हुन्थ्यो । पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बन्थे ।  विगतका वर्षमा पाथीभरा क्षेत्रमा फुलेका गुराँसका रस चुस्न थरीथरीका चरा अनि मौरी पनि झुम्मिन्थे । चराको आवाजले यहाँको यात्रा नै सङ्गीतमय हुन्थ्यो । गुराँसका रस चुस्ने अनेक थरीका चराचुरुङ्गी र मौरी अहिले कहाँ केको रस चुस्तै होलान् ?

सिदिङवा गाउँपालिका–४, साब्लाखुकी फूलमाया लिम्बू ढकमक्क गुराँस फुलेको हेर्न र पाथीभराको दर्शन गर्न ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि पाथीभरा प्रस्थान गर्नुभयो । दुई घण्टा मोटर चढेर काफ्लेपाटी पुग्नुभयो । काफ्लेपाटीदेखि उकालो हिँड्नुभयो । यो पदमार्गको दायाँबायाँ फुलेका गुराँसका थुङ्गासँग तस्बिर लिने योजना बनाउनुभएको थियो तर उहाँले न त कतै गुराँस फुलेको देख्न पाउनुभयो न त चराचुरुङ्गीको आवाज नै सुन्न पाउनुभयो ।  “यसपालि किन गुराँस फुलेन ?” लिम्बूले प्रश्न गर्दै भन्नुभयो, “गुराँस फुलेको हेर्न पाइन्छ भनेर आइयो तर फुल्दै फुलेको रहेनछ ।” मधेशमा गुराँस फुल्दैन । गुराँस हेर्नका लागि पहाड उक्लिनै पर्छ ।  गुराँस फुलेको हेर्न र पाथीभराको दर्शन गर्न सप्तरीका शिव यादव पनि जानुभयो । उहाँको पनि इच्छा पूरा भएन । प्राकृतिक सौन्दर्यसँगै विभिन्न प्रजातिका गुराँस फुल्नेयाममा गुराँस फुल्न नसकेको स्थानीयवासी इन्द्रनारायण भट्टराईको कथन छ ।

विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्य अवलोकन गर्न ठुलो सङ्ख्यामा पर्यटक आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । 

किन फुलेन गुराँस ?

जलवायु परिवर्तनका कारण गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वार्डेन दीपेन्द्र पोखरेलको भनाइ छ । यस वर्ष विगतको जस्तो असोजदेखि नै पानी परेन । हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गयो । विगतमा चाँदी जस्तै सेताम्मे हुने हिमाल काला चट्टानका रूपमा देखिए । हिउँ पग्लेर हिमरेखा माथि जान थालेको पनि पोखरेलले बताउनुभयो । हिमालमा समयमै हिमपात र वर्षा नहुनुले पनि जैविक विविधतामा असर पुगेको उहाँको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्नुहुने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको हुन सक्ने बताउनु हुन्छ । “त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने, यो वर्ष नफुल्ने भनेको सुक्खापनले गर्दा नै हुनु पर्छ’’, उहाँ भन्नुहुन्छ “पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नुअघि पानी नपर्दा गुराँस फुल्न सकेन ।’’ 

उहाँका अनुसार सुक्खा हुनेबित्तिकै सूक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रव्रिmया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँस फव्रिmन नसकेको हुनु पर्छ । बिरुवा फुल्नु–नफुल्नु, फल लाग्नु–नलाग्नुमा जलवायु परिवर्तन जस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उहाँले बताउनुभयो । 

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा नै पर्दछ । कालो भालु, मृग, घोरल, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफे, नेपालमा मात्र पाइने काँडेभ्याकुरलगायत पनि यहाँ पाइन्छ ।  पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणासमेत गरिएको छ । यसले गुराँसको संरक्षणमा सहयोग पुगेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, निलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । 

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत छन् । स्थानीय व्यवसायी गुराँस फुलेको समयमा पर्यटन व्यवसाय फस्टाउने आसमा हुन्छन् । नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ । गुराँसकै कारण यो ठाउँ देश–विदेशमा परिचित छ । १५ चैतपछि डाँडाभरि फुल्ने गुराँस हेरिरहूँ लाग्छ, यी निकै मनमोहक देखिने होटेल व्यवसायी बताउँछन् । 

गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । यति बेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिरहरू बढी लोकप्रिय हुन्छन् । 

गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा मात्र गुराँस देखेकाहरू प्रत्यक्ष रूपमा देख्दा धेरै रमाउँछन् । हरेक वर्ष देउतालाई गुराँस चढाइन्छ । यसका पात, बोव्रmा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्बत र रक्सी बनाउन पनि यो उपयोगी हुन्छ ।

गुराँस क्षेत्र

वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना, २०७५–२०८०’ मा मेची–महाकालीसम्म ४३ जिल्लामा विमिन्न प्रजातिका गुराँस पाइने उल्लेख छ, जसमा गुराँस पाइने वनको क्षेत्र छ लाख ९१ हजार ५९६ हेक्टर रहेको जनाइएको छ । अर्थात्, कुल वनको १० प्रतिशत क्षेत्रमा गुराँस पाइन्छ । कोशी प्रदेशको टिएमजे (तीनजुरे, मिल्के र जलजले), ताप्लेजुङको पाथीभरा क्षेत्र, पाँचथरका छिन्तापु–सुकेपोखरी र च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाउँहरू गुराँसका लागि चर्चित छन् । यस्तै बागमती प्रदेशका दामन–सिमभन्ज्याङ र रसुवामा गुराँस पाइन्छ । गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसका लागि निकै चर्चित छन् । कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र दैलेखमा गुराँस पाइन्छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, बैतडीलगायत क्षेत्र गुराँसका चर्चित क्षेत्र हुन् । एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा गुराँस पाइन्छ । गुराँस पाइने कुल क्षेत्रफलको ९० प्रतिशत नेपाल, चीन, भारत, भुटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सले ओगटेका छन् । हिमाली तथा पहाडी क्षेत्रमा कतै गुराँसकै जङ्गल, कतै मिश्रित जङ्गल पाइन्छन् । ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू नामक’ पुस्तकका अनुसन्धानकर्ता तथा लेखक डा. यादव उप्रेतीले चीनको युनान प्रान्तमा २५०, भारतको अरुणाञ्चलमा ७५, सिक्किममा ३६, भुटानमा ४६ र नेपालमा ३३ प्रजातिको गुराँस पाइने उल्लेख गर्नुभएको छ । गुराँसप्रतिको आकर्षण एकातिर छ भने यसको जैविक तथा पर्यटकीय महìव पनि उत्तिकै छ ।  नेपालमा पहिलो पटक गुराँसलगायतको नमुना र बिउ सङ्कलन स्कटल्यान्डका वनस्पति विज्ञ फ्रान्सिस बुखानन हामिल्टले गर्नुभएका थियो । सन् १८०२ देखि १८०३ सम्म नेपालमै बसेर उहाँले गुराँसको नमुना सङ्कलन गर्नुभएको थियो । त्यस्तै गुराँस अध्ययनकै व्रmममा वनस्पतिविज्ञ जेडी हुकरले सन् १८४८ मा नेपालका पूर्वी पहाडी क्षेत्रको भ्रमण गर्नुभएको थियो । पछिल्लो समय गुराँस मासिने व्रmम बढ्दै गएकामा स्थानीय तथा संरक्षण अभियानका अगुवा चिन्तित छन् । 

सडक निर्माण, विद्युत् प्रसारण लाइन विस्तारका कारण गुराँसका रुख मासिने व्रmम बढेको छ । त्यसो त दाउरा तथा विभिन्न प्रयोजनका लागि गुराँस वन फँडानी हुने गरेको छ । काशी करिडोर अन्तर्गत विद्युत् प्रसारण लाइनमा टिएमजे क्षेत्रमा सात हजार ६२९ गुराँसका रुख हटाउनुपर्ने बताइएको छ, जहाँ गुराँसको घनत्व धेरै छ । वनस्पतिविद्हरूको सुझावमा २०१९ सालमा लालीगुराँसलाई राष्ट्रिय फूल घोषण गरिएको हो । गुराँसलाई राष्ट्रिय फूलको मान्यता दिनका लागि वनस्पति विभागका तत्कालीन वरिष्ठ वनस्पतिविज्ञ प्रयागराज पाण्डे नेतृत्वको टोलीले सुझाव दिएको थियो । 

ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुमको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) मा सबैभन्दा धेरै २८ प्रजातिका गुराँस पाइने भएकाले यो भेगले गुराँसको राजधानीको उपमा पाएको छ ।