• १३ साउन २०८१, आइतबार

स्टार्टअप कर्जाका लागि अयोग्य आवेदन रद्द

blog

काठमाडौं, जेठ ४ गते । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि अनुसार मापदण्ड नपुगेका अयोग्य २१३ आवेदन आउट भएका छन् ।

उद्योग विभाग अन्तर्गत स्टार्टअप उद्यम कार्यान्वयन समितिको सचिवालयले कर्जाका लागि परेका आवेदन अध्ययन गरेर कार्यविधि अनुरूप नभएका २१३ आवेदन मूल्याङ्कनमा समावेश नुहुने सूचना निकालेर सार्वजनिक गरेको हो । कर्जाका लागि विभागमा ३८२ आवेदन परेका थिए । पहिलो चरणमा कार्यविधि अनुसार अयोग्य २१३ आवेदनलाई आउट गरिएको विभागले जनाएको छ ।

कर्जाका लागि आवेदन परेका उद्यम व्यवसाय एकल लगानी भएको, फर्म दर्ताको कागज नभएको, प्राइभेट फर्म, सूचनापश्चात् साझेदारी फर्म भएको, साझेदारी फर्म-उद्योग नभएको, नगरपालिकामा एकल व्यवसाय दर्ता देखिएको छ, एकल रही सात वर्ष नाघेको, कम्पनी दर्ता अरूको नाममा भएको कैफियत देखिएको विभागले जनाएको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई ‘स्टार्टअप’ उद्यममा संलग्न हुन उत्प्रेरित गर्न र सहुलियतपूर्ण कर्जा प्रवाह गर्न यो कार्यविधिमा उल्लेख भए पनि सो अनुरूप नभएका व्यवसायलाई आउट गरिएको विभागले जनाएको छ । 

विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले स्टार्टअप कार्यविधि अनुसार मापदण्ड नपुगेको २१३ आवेदन रद्द भएको जानकारी दिनुभयो । नवीनतम ज्ञान, सिप क्षमता भएको व्यवसाय हुनुपर्ने भएपछि कर्जाका लागि आएका अधिकांश आवेदन कार्यविधि अनुरूप नभएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा कर्जाका लागि अयोग्य कम्पनीले सार्वजनिक गरिएको र थप बाँकी आवेदनको अध्ययन भइरहेकाले तोकिएको कार्यविधि नपुगेकाले सूचना निकालेर सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । 

स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २५ करोड रुपियाँ छुट्याएकाले २५ लाखका दरले एक सय जनालाई मात्र कर्जा रकम उपलब्ध गराउन विभागले जनाएको छ ।