इस्लामाबाद, पुस ४ गते । पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार यस्तो कदमले विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भएको सिन्धु जल सन्धिको उल्लङ्घन गरेको र यसले क्षेत्रीय शान्ति तथा स्थिरतालाई गम्भीर खतरा पुर्याएको बताउनुभयो ।
पाकिस्तानको विदेश मन्त्रालयले चेनाब नदीबाट अनियमितरूपमा पानी छोडिएको विषयमा स्पष्टीकरण माग्दै नयाँदिल्लीलाई पत्र लेखेको एक दिनपछि दारको यो प्रतिक्रिया आएको हो । उहाँका अनुसार भारतले पाकिस्तानको कृषि चक्रको अत्यन्त संवेदनशील समयमा पानीको प्रवाहमा हेरफेर गरिरहेको छ, जसले किसानको जीविकोपार्जन मात्र नभई, देशको खाद्य तथा आर्थिक सुरक्षालाईसमेत जोखिममा पारेको छ ।
चेनाब नदीबाट हालै भएको अनियमित पानी छोडाइ यसै हप्ता पत्ता लागेको उहाँले जानकारी दिनुभयो । दारले यस्तो कार्यलाई अवैध र गैरजिम्मेवारपूर्ण भन्दै यसबाट पाकिस्तानमा मानवीय सङ्कट सिर्जना हुन सक्ने चेतावनी दिनुभयो । पाकिस्तान र भारतबिचको सम्बन्ध ऐतिहासिकरूपमा तनावपूर्ण रहँदै आएको छ । सन् १९४७ मा ब्रिटिस औपनिवेशिक शासनबाट स्वतन्त्रता प्राप्त गरेयता दुवै देशबिच दुई पटक युद्ध भइसकेका छन् ।
यस विषयमा भारत सरकारको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यसअघि सेप्टेम्बर महिनामा पनि यस्तै कदमका कारण बाढीको अवस्था झनै बिग्रिएको र पूर्वी पाकिस्तानका सयौँ गाउँ ध्वस्त भएको अधिकारीले बताएका थिए । त्यतिबेला भारतले मनसुनजन्य वर्षासँगै सम्भावित बाढीबारे पाकिस्तानलाईसचेत गराएको दाबी गरेको थियो ।
काश्मीर क्षेत्र भारत र पाकिस्तानबिच विभाजित छ र दुवै देशले यसमाथि पूर्ण दाबी गर्दै आएका छन् । विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिले दुवै देशका लागि जीवन रेखा मानिने नदी प्रणालीको पानी बाँडफाँटको व्यवस्था गरेको छ । यो सन्धि सन् १९६५ र १९७१ का युद्ध तथा सन् १९९९ को प्रमुख सीमा झडपका बाबजुद पनि कायम रहँदै आएको छ ।
सन्धिअनुसार भारतको नियन्त्रणमा पूर्वी नदी रावी, सतलज र ब्यास पर्छन् भने पाकिस्तानको नियन्त्रणमा पश्चिमी नदी झेलम, चेनाब र सिन्धु पर्छन्, जुन अधिकांश काश्मीर क्षेत्र हुँदै बग्छन् । तर भारतको नियन्त्रणमा रहेको काश्मीरमा २६ जना पर्यटक मारिएको घटनापछि भारतले एकतर्फीरूपमा यो सन्धि स्थगित गर्दै अप्रिल महिनामा पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध घटाएको थियो । रासस/एजेन्सी