• २५ चैत २०८२, बुधबार

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी। तस्बिर :धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, चैत २५ गते । सप्तरी प्रहरीले मोटरसाइकल चोरी मुद्दामा सहित संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा चोरी मुद्दामा जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ निवासी ३१ वर्षीय मो.हकिम र सवारी ज्यान मुद्दामा डाक्नेश्वरी नगरपालिका–१ निवासी ३८ वर्षीय महेशकुमार चौधरी रहेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार चोरी मुद्दामा मो. हकिम गत सोमबार अपराह्न करिब ४:४५ बजे राजविराज नगरपालिका-७ स्थित उच्च अदालत जनकपुर इजलास राजविराज अगाडि पार्किङ गरी राखिएको स.८५.१८०९ नम्बरको अपाचे मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा स्थानीयवासी र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ। उक्त मुद्दामा सप्तरी जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरिएको छ।

यस्तै, सवारी ज्यान मुद्दामा पक्राउ परेका चौधरीले २०८२ माघ १४ गते साँझ बोदेबर्साइन नगरपालिका-२ स्थित सडकखण्डमा मोटरसाइकल चलाउने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका महेन्द्र मलिकको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो। घटनापछि फरार रहेका चौधरी सोमबार आफै इलाका प्रहरी कार्यालय कडरबोनामा उपस्थित भएका थिए।

सोधपुछका क्रममा उनले घटना स्वीकार गरेपछि प्रहरीले नियन्त्रणमा लिई चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रनाउ पुरीले जनाउनुभयो । दुवै घटनामा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।