काठमाडौँ, पुस ४ गते। मदन भण्डारी मेमोरियल कलेजमा शुक्रबारदेखि विज्ञान प्रविधि सम्बन्धी विशेष कार्यक्रम सुरु भएको छ। ‘एमबीएमसी आइडिया एक्स २०२५’ कार्यक्रमको शुक्रबार उद्घाटन भएको हो। कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ।
यो कार्यक्रममार्फत विज्ञान तथा प्रविधिका माध्यमबाट देशका समसायिक समस्या र अवसरसँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रही नवीनतन सोचको खोज गरी समस्या समाधानमा आधारित रही उद्यमशीलता विकास र प्रवर्द्धन गर्ने कलेजले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस कलेजले विश्वविद्यालय अनुदान अयोगबाट गुणस्तर उन्नयन कार्यक्रम गर्दै आएको छ।
यो कार्यक्रमको तेस्रो संस्करणमा स्नातक तहका सूचना तथा प्रविधि विषय अध्ययनरत विद्यार्थी र प्रविधिमा रुचि राख्ने नवप्रवर्तकलाई ‘एमबीएमसी आइडिया एक्स २०२५’ कार्यक्रमले नेपालको वर्तमान आवश्यकता र सम्भावनासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका विषयवस्तु-पर्यटन, स्वास्थ्य सेवा र पहुँच, वित्तीय प्रविधि, कृषि प्रविधि, सांस्कृतिक पहिचान तथा खुला विषयवस्तुहरूमा केन्द्रित रही प्रतिस्पर्धीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगितात्मक तथा सहकार्यात्मक रूपमा सञ्चालन हुने यस कार्यक्रममार्फत् सहभागीले नवीन सोचको प्रोटोटाइप विकास गर्ने, कार्यान्वयन गर्ने र विज्ञको मार्गदर्शन प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रमको उद्घान कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले गर्नुभएको हो। उक्त कार्यक्रमको सभापतित्व कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले गर्नुभयो।
कार्यक्रममार्फत् नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्दै समसामयिक समस्या समाधानमा आधारित रही उद्यमशीलता विकास, प्रविधिको सदुपयोग तथा दिगो विकासका लक्ष्यतर्फ योगदान पुरयाउने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमबाट उत्कृष्ट आइडियाहरूलाई पुरस्कार, मेंटरसीप तथा नेटवर्किङको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।