• १३ असोज २०८१, आइतबार

एकल महिलालाई कुटपिट गरी ‘जंगी बाबा’ फरार

blog

कुटपिट गर्ने साधु ‘जंगी बाबा’ र पिटाई खाने महिला पोखरेल । तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड, जेठ २ गते । झापाको कनकाई नगरपालिका ४ स्थित धृतकौशिक गोत्रिय प्रतिष्ठानमा रहनुभएकी एक महिलामाथि कुटपिट गरेर ‘जंगी बाबा’ भनिने योग गुरु फरार भएका छन् । 

बोली समेत नआउने  एकल महिला देउकुमारी पोखरेललाई कुटपिट गरि बाबा फरार भएका हुन् । एकल महिला सोही धृतकौशिक गोत्रिय प्रतिष्ठानमा विगत १५ वर्षदेखि कर्मचारीका रुपमा बस्दै आउनुभएको थियो । जंगी बाबा नामका साधुलाई नयाँ समितिले विगत २ महिनादेखि प्रतिष्ठानमा योग गुरुका रुपमा राख्दै आएको स्थानीयको भनाई छ ।

सोमबार दिनभरजसो कोठा धुनेर कुटपिट गर्दा एकल महिला पोखरेलेको शरिरभरी निलडाम भएको छ । कुटपिट गरि घाईते बनाएको थाहा पाएपछि स्थानीयले प्रहरीमा खबर गरेको र योग गुरु सन्त बाबा भने प्रहरी आएको थाहा पाउनसाथ फरार भएको कोटीहोम धार्मिक विकास संस्थाकी सचिव अम्बिका खरेलले बताउँनुभयो । 

हाल जंगी बाबाको नाममा इलाका प्रहरी कार्यालय सुरुङ्गामा किटानी जाहेरी हालिएको छ । घाईते महिला देउकुमारीको स्थानीय अस्पतालमा उपचार गरिरहेको उहाँका आफन्त भानुभक्त नेपालले बताउँनुभयो ।

सामाजिक सञ्जालमा समेत सक्रिय रहने सन्त जंगी बाबाले समेत स्वयं सामाजिक संञ्जालमा एक भिडियो अपलोड गरि जंगी बाबाको आश्रममा बसेर नियम कानुन नमान्नेले बाबाको प्रसाद सजाय भेटेको भन्दै कार्वाही गरेको आशयको प्रतिक्रिया दिएका छन् ।