• ८ मंसिर २०८१, शनिबार

गाउँ भए पो सहर (कविता)

blog

सहरहरू एकतमासका

पट्यारलाग्दा हुन्छन्

त्यहाँ न कोइली बास्छे

न जुरेली नाच्छे

न उन्यु फुल्छ 

न गुराँस हाँस्छ

नाङ्गा सडकमा

ताँती लाग्छन् मोटर र मान्छे

दौडादौड भागाभाग बाहेक केही छैन

फुर्सद हुँदैन सहरलाई

अस्तव्यस्त घरहरू, बासी भात

दैनिकी हो सहरको ।

यसैले त म विकासेहरूलाई

अलिकति गाउँ बाँकी राख भन्ने गर्छु

डोजर रोकेर अलिकति गाउँ

बाँकी राखे

देश बाँकी रहन्थ्यो

संस्कृति, संस्कार बाँकी रहन्थ्यो

भाका र जाति बाँकी रहन्थ्यो

भाषा र स्पन्दन बाँकी रहन्थ्यो

प्रकृति र पर्यावरण बाँकी रहन्थ्यो

गाउँ बाँचे वास्तवमा नै

जन्मभूमिको प्राण बाँचिरहन्थ्यो

यसैले अलिकति हिलो, अलिकति धुलो

अलिकति छहरा, अलिकति झरना

अलिकति वन, अकिकति पँधेरो

अलिकति हावा, अलिकति सुसेली

अलिकति गोधुली, अलिकति कोरस

अलिकति प्रेम, अलिकति वयेली

अलिकति सभ्यता, अलिकति नैतिकता

अलिकति गोरेटो, अलिकति घोडेटो

बाँकी राखे

नेपालको पूर्णता बाँकी रहन्थ्यो

हे विकासेहरू

गाउँका पाटा र डिलहरूलाई

डोजरले सहर नबनाऊ न

गाउँका फाँट

सन्तानलाई गाउँ चिनाउन पनि त

चाहिन्छ

सहरको उकुसमुकुस बिसाउन पनि त

चाहिन्छ

अलिकति भए पनि गाउँ रहन देऊ न

कन्दरा र खोँच भए पो नदी नहर 

गाउँ भए पो सहर ।