नबुझेको, नजानेको
अहिले पनि लाग्दैन,
बुझेको हैसियत रहेन
कुनै सबुत प्रमाण छैन
आफ्नो छाती चिर्नु बाहेक !
कस्तो सम्झना आउँदैन
कि प्रेमका कुन कुन गणित बिगारेँ
सूत्रहरू, तथ्यहरू कण्ठै थिए
कक्षा कोठामा अब्बल जो थिएँ !
मनको भागा जानिनछु जस्तो लाग्छ
गुणनमा सिपालु नै थिएँ,
पूराका पूरा हल गरेकी हुँ
उत्तर मिलेनछ, फेल भएँ !
प्रेम–गणितको अभ्यास पुगेन
मैले त समर्पणलाई प्रेम बुझेँ
त्यागलाई, हिम्मतलाई कसि ठानेँ
यहाँ संसार अर्कै रहेछ
न जोड–जात मिल्यो,
न कोष्टकभित्रको बात !
लेखिरहेँ नित्य उसकै नाम
जपिरहेँ उसकै गुणगान
ध्यानमा उही थियो,
सम्मानमा उही थियो
खै कताको जोड–घटाउ मिलेन
म अनुत्तीर्ण भएँ !
ढल्यो एउटा प्रेम–इमारत
जो बनेको थियो भ्रुण–भावले
कति कति मनका तार–तरङ्गले
धङधङी र धड्कनले
हरेक दिनका तडपले
हृदयका कति कति कम्पनले !
खस्यो प्रीति पहिरो
र पुरियो प्रेमको अङ्क–वृक्ष
आयो भाव–भूकम्प र
ढल्यो सारा प्रेमले जोडेका
अक्षर– इँटाका घर !
केही गरी जोगाउन सकिनँ
प्रेमको त्यो घमाइलो घर,
प्रेमको रेखा–गणित
भत्किँदै, भत्किँदै शून्य र चिसो भएँ !