वर्तमान यति सङ्कुचित हुँदै छ कि मान्छेलाई जीवनयापन गर्न सहज छैन । दैनन्दिन जीवनका लागि लामो दौड गर्नुपर्ने अवस्था छ । अतः लामो कथा या उपन्यास पढेर बस्ने फुर्सद कसैलाई छैन । त्यसैले केही दशकयता छोटा कथा अर्थात् लघुकथाको लोकप्रियता बढ्दो छ । यसै सन्दर्भमा ललिता ‘दोषी’को लघुकथा सङ्ग्रह ‘महान् कविज्यू’ प्रकाशित भएको छ । मानवीय कुण्ठा, पीडा, विसङ्गति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरू यस लघुकथाका प्रतिनिधि पात्र हुन् । लघुकथाभित्र काव्यात्मक प्रस्तुति दिएर साहित्यिक अन्तर्विधालाई समेट्ने कोसिस पनि उहाँले गर्नुभएको छ । यो प्रयोग गर्ने थोरै व्यक्तित्वमा उहाँ पनि पर्नु हुन्छ ।
लघुकथाकार ललिता ‘दोषी’का लघुकथामा आफ्नै परिवारप्रतिको विरोधाभास पाइँदैन । अन्यथा नारी अधिकार र समानताका नारा घन्काउने नारीहरूका पारिवारिक विखण्डन, अशान्ति र विसङ्गति भने जरुर झल्किने थिए । यो चुरोलाई उहाँले कृतिको नाम पनि पुरुष पक्षधरको रूपमा ‘महान् कविज्यू’ राखेर प्रस्ट पार्नु भएको छ । समग्रमा उहाँका कथामा पलायन, जीवनप्रतिको निराशा, पीडाबोध, बाँच्ने चाहनाको सङ्कट, अभाव र यी यावत् तथ्यले सिर्जना गर्ने निराशामय वातावरणको उल्लेख भएको पाइन्छ ।
उहाँको लघुकथा सङ्ग्रहमा भाषाशैली यति सरल, सहज छ कि जुनसुकै तह र तप्काका पाठकहरूले सजिलै बुझ्न सक्छन् । आफ्ना लघुकथामा व्यङ्ग्यात्मक चेतसमेत पस्कन उहाँ सफल हुनुभएको छ । समय घर्केपछि अर्थात् मान्छे मरेपछि गोहीको आँसु झार्ने परम्परा, सामाजिक वा साहित्यिक विषमता एवं विकृतिलाई प्रशस्त व्यङ्ग्य प्रहार गरिएको छ ।
उहाँका केही लघुकथामा उखान टुक्काको पनि सामयिक प्रयोग भएका देखिन्छन् । जस्तैः कोपिलाले घुँक्कघुँक्क रुँदै जवाफ दिइन्, “बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान सम्झेर पर्खेकी छु । एक्कासि कसरी सम्झिनुभयो त ?” त्यसैमा क्रमशः “कौवाले कान लग्यो भन्दैमा कानै नछामी कौवाको पछाडि दौडिएँ” भन्दै पुरmष पात्रको स्वीकारोक्ति एवं उखानको प्रयोग रहेको छ (निर्णय लघुकथा पृष्ठ ५३) । यसरी जनजनमा मनमनमा भिजेका उखान टुक्काको प्रयोगले रचनालाई सरल, सरस मिठासपूर्ण बनाएको छ ।
यसैगरी अर्को राम्रो पक्ष भनेको रचनाहरूमा कविताको प्रयोग । छोटा मिठा र कथासार पक्षीय कविताले मर्मस्पर्शी अभिव्यक्ति दिएका छन् । जस्तैः
“साले त्यो शिखर चढ्यो
मेरै साहित्य चोरेर
म सडकमा सुत्ने भएँ
थोत्रा बोरा ओढेर” (महान् कविज्यू, पृष्ठ १७)
“सबैको पीडा बुझिदिने
यही साहित्य क्षेत्र
यो क्षेत्र नसमाएको भए
जीवन हुने थियो व्यर्थ ।” (मूल्याङ्कन, पृष्ठ २७)
विभिन्न भङ्गीमा बोकेर लेखिएका यस्ता भावुक कविताले पाठकको मनमुटुलाई तरङ्गित बनाउँछ र कथालाई केही न केही सशक्त बनाएको छ ।
कृतिमा रहेका ३९ कथाको अध्ययनको क्रममा भेटिएका केही कमीकमजोरी जस्तै ‘सौता’ लघुकथामा पहिला ज्वाइँ शेखर नामका हुन्छन् भने उत्तरार्धमा उनी त्रिलोचनमा परिणत हुन्छन् । त्यस्तै ‘चीत्कार’ लघुकथाको अन्तिम वाक्यमा ‘नारीहरूले चीत्कार र आफ्नो पीडा सम्झेर साँची जुरmक्क उठिन् र अदालततिर लागिन्’ यहाँ ‘नारीहरूको चीत्कार’ हुनु पर्छ । यसरी हरेक रचनामा व्याकरणगत सामान्य त्रुटिहरू भेटिन्छन् ।
जीवन र जगत् कति सुन्दर छ । तर अभाव, महँगी, द्वेष, भोकमरी, कष्ट तथा अशान्ति आदि जीवन भोगाइको व्रmममा अनुभव गरिने तथ्यहरू हुन् । जसले सङ्घर्ष गर्दै अघि बढ्यो, ऊ बाँच्यो । होइन भने जो निराश हुन्छन्, उनीहरूले नै जीवनलाई निराशाको आधारमा समाप्त पार्न उद्यत पनि हुन्छन् ।
ललिता दोषीका सङ्ग्रहका सबै लघुकथा कोमल शैलीका, परिष्कृत एवं सुललित सम्प्रेषणले मानवीय भावनालाई अभिव्यक्त गर्न सक्षम छन् । स्वदेश प्रकाशन प्रा.लि., काठमाडौँ प्रकाशक रहेको यस कृतिको मूल्य २५०/– रुपियाँ र पृष्ठ १०४ रहेको छ ।