• २१ वैशाख २०८१, शुक्रबार

विकासमा पक्षपात भयो भने विद्रोह हुन्छ : अध्यक्ष तिमिल्सिना

blog

पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटन गर्नुहुँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना ।

काठमाडौं, वैशाख २९ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

‘‘विकास निर्माणका काम योजनावद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ ।,’’ उहाँले भन्नुभयो, ‘‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अबस्थामा विद्रोह हुन्छ । पक्षपात रहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ ।’’

अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिनुहुँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र निती निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुन्छ भन्नुभयो ।
तीन वटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनावद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

वि.सं.२०५४ मा पोखरा बागलुङ सडक मात्रै रहेको अवस्थाको चर्चा गर्दै तत्कालिन जिल्ला विकास समिति पर्वतमा सभापति भए पनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर आरोप लागेको स्मरण पनि अध्यक्ष तिमिल्सिनाले गर्नुभयो ।

आफुँ तत्कालिन जिविस सभापति हुँदा कार्यकालको अन्तिम वर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट विनियोजन गरेको थिए भन्नुभयो । पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रकृयामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गर्नुभयो । उहाँले आफुँ राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय विकास निर्माण र देशका अन्य सरोकारका विषयमा पनि लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुवँर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वमान वडा अध्यक्ष बसन्त गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त वडा कार्यालय भवन ६८ लाख रुपियाँको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र निलकुमारी तिमिल्सिनाले २ रोपनी ६ आना जग्गा निःशुल्क दिनुभएको थियो भने स्थानिय लोकनाथ रिजालले बाटोको लागि जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जानकारी दिएको छ ।