• २१ वैशाख २०८१, शुक्रबार

संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत हुन्छ : मन्त्री राई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं, वैशाख २९ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताउनुभयो। 

उहाँले पहिला पनि मस्यौदा तयार भएर मन्त्रिपरिषद्‍मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताउनुभयो। उहाँले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताउनुभयो। उहाँले विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ। अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ। हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ। तर्जुमाका दृष्टिकोणबाट भएका कमी हटाउने सिलसिलामा कानुन मन्त्रालयले हेर्नुपर्ने त्यहाँ अलि समय लागिरहेको छ, धेरै कानुनहरु प्रक्रियामा रहेकाले हुनसक्छ। यो जारी अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ। विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्थामा अहिले समिति सचिवले दिनुभएको तथ्यांक भयावह छ। यो मनोपरामर्श सम्बन्धी सामान्य कुरा त पाठ्यक्रममा छ। तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढंगले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ। त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ।’’

मन्त्री राईले विश्वविद्यालयको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको जानकारी दिनुभयो।