काठमाडौँ, वैशाख २४ गते । पछिल्लो केही समययता नेपाली चलचित्रको स्तरोन्नति भएको प्रतिक्रिया प्राप्त भइरहेका छन् । नेपाली दर्शकमा परेको यस्तो सकारात्मक छापलाई जोगाइ हरेक दृष्टिकोणबाट थप परिस्कृत बनाउँदै जानु चलचित्र निर्माताहरूलाई ठूलौ चुनौती पनि थपिन्छ । दुई चारवटा राम्रा चलचित्रले चर्चा पाइसकेपछि त्यसपछि बन्ने चलचित्र हरेक दृष्टिले थप स्तरीय हुनसक्दा मात्र प्रतिस्पर्धी बजारमा त्यसले आफ्नोलाई स्थापित गर्न सक्छन् ।
तर अहिले प्रदर्शन भइरहेको चलचित्र ‘जारी’पछि प्रदर्शनमा आएका चलचित्रले खासै स्तर वृद्धि गर्न सकेको देखिएन । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ज्याकी’ : आई एम ट्वान्टी वानले पनि दर्शकको अपेक्षा पूरा खासै सकेको छैन । चलचित्रको कथामा फिटिक्कै नयाँपन छैन । नृत्य नै नृत्यले भरिएको छ । त्यसो त चलचित्रमा नृत्य नै नृत्य प्रस्तुत गरिनु आफैँमा नराम्रो नहोला तर पनि नृत्य मात्र देखाउने चक्करमा खास कथावस्तुलाई ओझेलमा पार्नुचाहिँ विडम्बना हुनसक्छ । यसलाई निर्देशक रेनेशा राई राणाले बुझ्न जरुरी देखिन्छ ।
चलचित्रको कथा ज्याकी लिम्बू (धिरज मगर)बाट सुरु हुन्छ । नृत्यमा धेरै सौखिन ज्याकीलाई डान्सर बन्ने रहर हुन्छ तर उनका बुबा–छोरालाई लाहुरे बनाउन जोडतोडले लागि परेका हुन्छन् । यता ज्याकीका जेठा दाजु मिलन लागूऔषधको कारणले सुधारगृहमा हुन्छन् । उनलाई घर आउन मन छैन । त्यसैले पनि बुवाको छोरालाई लाहुरे बनाउने सपनामा ज्याकीमाथि नै हुन्छ । ज्याकी मारमा परेका छन् । उनलाई बुवाको सपना पनि पूरा गर्नुछ र डान्सर पनि बन्नुछ । यही दुविधाको कथा हो चलचित्र ‘ज्याकी’ : आई एम ट्वान्टी वान । ज्याकीले बुवाको सपना रोज्छन् कि आफ्नो ? यसको उत्तर नै चलचित्रको मुख्य विषय हो ।
त्यस्तै चलचित्रमा नायिका रुबी (जसिता गुरुङ)को कथा पनि ज्याकीसँंग मिल्दोजुल्दो हुन्छ । रुबीलाई पनि नृत्यमा धेरै रुचि छ तर उनको घरपरिवारमा आमाबाहेक अरू कसैलाई उनको यो रुचिमा चाख छैन । उनको मामा उनलाई बारम्बार आफ्नो पसलमा काम गर्न सुझाइरहन्छन् तर रुबीलाई भने नृत्यमा नै भविष्य बनाउनुछ । यी दुई पात्रको सपनाको कथा हो, चलचित्र । दुवैले आफ्नो सपनालाई कसरी पूरा गर्छन् भन्ने कुरा नै चलचित्रमा देखाउन खोजिएको छ । ज्याकी र रुबी दुवै मिलेर आफ्नो समूह पनि बनाउँछन् तर एउटा ठूलो नृत्य प्रतियोगितामा ज्याकीको सानो गल्तीले उक्त समूह तहस नहस हुन्छ । त्यसपछि ज्याकी र रुबीको जीवनमा अनेकन उतारचढाव आउँछन् । चलचित्रमा हिपहप नृत्यले नै अधिकांश समय लिएको छ । हिपहप नृत्य रुचाउनेलाई चलचित्रले आकर्षित गर्न सक्छ ।
चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा बलिउड चलचित्रबाट प्रभावित भएको देखिन्छ । बलिउडमा पनि नृत्यमा मात्र केन्द्रित रहेर धेरै चलचित्रहरू बनेका छन् । यो चलचित्रमा भने बलिउडको एबीसीडी भन्ने चलचित्रको प्रभाव धेरै देखिन्छ । दर्शकलाई चलचित्रमा बाँधिराख्ने भनेको यसको कथाले नै हो तर निर्देशक राईले चलचित्रको कथामा खासै ध्यान दिनुभएको देखिँदैन । चलचित्रभित्र उहाँ निर्देशक कम कोरियोग्राफर धेरै बन्नुभएको भान हुन्छ । ज्याकीको भूमिकामा धिरजको अभिनय खासै राम्रो छैन । उहाँले चलचित्रमा बोलेको संवादमा परिपक्वता देखिए पनि उहाँको अभिनय पुरानै ढर्राको छ । रुबीको भूमिका जसितालाई सुहाएको छ । अन्य चलचित्रमा भन्दा यसमा उहाँको मेहनत झल्किन्छ । लुनिभा तुलाधर, विकास जोशी, रिजोन परियार, प्रेम सुब्बाले चलचित्रमा आफ्नो चरित्रलाई न्याय दिने प्रयास गर्नुभएको छ ।