गोरखापत्र संस्थानमा प्रेस फोटोग्राफरका रूपमा २०३० सालदेखि मैले सेवा सुरु गरेको थिएँ । त्यतिबेला गोविन्द प्रधान महाप्रबन्धक, गोपालप्रसाद भट्टराई गोरखापत्र दैनिकका प्रधान सम्पादक र वरुणशमशेर राणा राइजिङ नेपालको प्रधान सम्पादक हुनुहुन्थ्यो । गोरखापत्र संस्थानका प्रकाशनहरूमा तस्बिर छापिने कार्य त्यतिबेला विरलै मात्र हुन्थ्यो । लेटर प्रेस पद्धतिबाट छपाइ कार्य हुने हुँदा गुणस्तरको छपाइ हुँदैनथ्यो । तस्बिर छापिने काम जिङ्क ब्लकको पद्धतिबाट हुने हुँदा तस्बिरहरू पत्रिकामा राम्रो देखिने गरी छापिँदैनथे । क्याप्सनका भरमा फोटोमा देखिएका आकृतिलाई चिन्ने कोसिस गर्नुपर्थ्याे ।
गोरखापत्रको प्रथम पृष्ठमा छापिएका तस्बिरहरू प्रायः राजारानी तथा परिवारमा सीमित हुन्थे । प्रधानमन्त्रीको फोटो छापिने काम पनि विरलै हुन्थ्यो । मन्त्रीहरूको त फोटो छापिन विशेष पर्व र अवसर आउनुपर्थ्याे । करिब पाँच÷सात घण्टासम्म विभिन्न काम पूरा गरेपछि अखबारमा एउटा तस्बिर प्रकाशन गर्न सम्भव हुन्थ्यो । अहिलेझैँ फोटो र पत्रिकामा छाप्ने काम सरल र सस्तो थिएन ।
संस्थानको अघोषित नीतिअनुसार प्रायः राजारानी तथा राजपरिवारको गतिविधि र कार्यक्रमलाई नहटाइकन अखबारमा फोटोलाई स्थान दिने भन्ने थियो । राजारानी तथा राजपरिवारका सदस्य सहभागी भएका कार्यक्रमको तस्बिर अखबारमा छाप्ने काम नभएको खण्डमा जागिरबाट अवकाश पाउने अवस्थासमेत हुन्थ्यो । दरबारको संवाद सचिवालयको निर्देशनमा सम्पूर्ण सम्पादक सञ्चालित हुन्थे । सम्पादकहरू केवल संवाद सचिवालयको आदेशअनुसार काम गर्थे । मेरो प्रमुख काम भनेकै राजारानी तथा राजपरिवारका सदस्य संलग्न भएका कार्यक्रमको तस्बिर नछुटाइकन अखबारको प्रथम पृष्ठमा फोटो प्रकाशन गर्नु थियो । एक पटक राजपरिवार संलग्न एक कार्यक्रमको फोटो खिच्न छुटेका कारण राति सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालय पुगेर भिडियोको फोटो खिचेर अखबारमा छापी जागिर जोगाएको अनुभव पनि छ ।
राजपरिवारको फोटो खिचेपछि विशेष गरेर राजारानीका तस्बिर संवाद सचिवालयमा लगेर प्रकाशनका लागि स्वीकृति प्राप्त गरी ल्याउनुपर्दथ्यो । राजपरिवारको कार्यक्रममा फोटो खिच्न जाँदा प्रायः दुई÷तीन घण्टा समय खर्च हुन्थ्यो । कार्यक्रमको फोटो खिचेर कार्यालय पुग्दा थाकेको शरीर लिएर नयाँ सडकको एउटा निजी स्टुडियोमा गएर फोटो धुलाइ तथा छपाइ गर्नुपर्दथ्यो । गोरखापत्र संस्थानको फोटो शाखामा एउटा सामान्य ‘यासिका’ क्यामरा मात्र थियो । फोटो धुलाई छपाइ गर्ने संस्थानको आफ्नो डार्करुम थिएन । करिब एक घण्टाजति समय लगाएर फोटो धुलाई सम्पादकलाई देखाएर अनि फेरि नारायणहिटी दरबारमा संवाद सचिवलायमा फोटो स्वीकृतिका लागि पु¥याएर ल्याउँदा चार÷पाँच घण्टा समय बितिसकेको हुन्थ्यो ।
स्वीकृत फोटोलाई अखबारमा छाप्न जिङ्क ब्लक बनाउनुपर्दथ्यो । यो ब्लक बनाउने काम त्यसबेला सूचना विभाग वा बालाजु औद्योगिक क्षेत्रभित्र जोरगणेश प्रेसमा मात्र उपलब्ध थियो । गोरखापत्र संस्थानले आफूलाई चाहिने ब्लक सबै जोरगणेश प्रेसमा नै बनाउने गर्दथ्यो । प्रायः राजारानीको तस्बिरको ब्लक सूचना विभागले गोरखापत्रलाई उपलब्ध गराउँदथ्यो । सूचना विभागबाट ब्लक प्राप्त नहुँदा बालाजुमा नै गएर ब्लक बनाउनुपर्ने हुन्थ्यो । यसका लागि दुई/तीन घण्टाको समय लाग्दथ्यो । यसरी एउटा कार्यक्रमको फोटो खिचेर तस्बिर तयार गरेर स्वीकृति प्राप्त गरी ब्लक बनाएर प्रेसलाई उपलब्ध गराउँदासम्म करिब छ÷सात घण्टाभन्दा बढी समय काम गरेको सम्झँदा अहिले काँडा उम्रेर आउँछ । यसरी एउटा फोटोले विभिन्न प्रकारका मेहनत र प्रयास पार गरी अखबारमा फोटो छापिँदा त्यो फोटो सामान्यतया चिनिने खालको हुँदैनथ्यो । छपाइ पद्धति गुणस्तरयुक्त नभएका कारण राम्रो फोटो छापिने काम चुनौतीपूर्ण थियो ।
गोरखापत्र संस्थानमा त्यस बेला केही लेटर प्रिन्टिङ प्रेस थिए । एउटा राम्रो खाले जर्मनीमा निर्मित हाइडलवर्ग भन्ने प्रेस पनि थियो । प्रेसको राम्रो स्याहारसम्भार नहुने भएका कारण सुन्दर छपाइ विरलै मात्र देख्न पाइन्थ्यो । गोरखापत्र संस्थानको फोटोग्राफीको दयनीय स्थिति देखेपछि मैले सम्बन्धितमा कुरा पु¥याएर संस्थानमा आफ्नै फोटो धुलाई छपाइ गर्ने कोठा डार्करुमको निर्माण गरेँ । एउटा मात्र क्यामरा भएको संस्थानमा त्यसबेलाकै सबैभन्दा राम्रो क्यामरा ह्यासल ब्लेड स्विडेनबाट मगाएर स्तरीय फोटो खिच्ने प्रयास गर्न थालेँ । राजा वीरेन्द्रको राज्याभिषेक २०३१ मा त्यही नयाँ क्यामरा प्रयोग गरिएको थियो ।
आधुनिक प्रविधिको थालनी
गोरखापत्रले आफ्नो छपाइ पद्धतिमा व्यापक सुधारको आवश्यकता महसुस गरेर लेटर प्रिन्टिङ प्रेसबाट अफसेट प्रिन्टिङमा जाने निधो ग¥यो । यस कार्यमा त्यस बेलाका महाप्रबन्धक भारतदत्त कोइरालाको महत्त्वपूर्ण भूमिका रह्यो । संस्थानमा अफसेट प्रिन्टिङ प्रेस आइसकेपछि छपाइको गुणस्तरमा व्यापक सुधार भयो । छापिएका तस्बिरहरू अब चिनिने मात्र नभई राम्रो पनि देखिन थाल्यो । तस्बिरकै जस्तै गुणस्तरयुक्त छपाइ कार्य हुन थालेपछि केही वर्ष रङ्गीन छपाइसमेत सुरु भयो ।
छपाइमा सुधार भएपछि अब गोरखापत्रमा एउटा फोटो छाप्न सात÷आठ घण्टा काम गर्नुपर्ने अवस्थाबाट मुक्ति पाइयो । आफ्नै संस्थानमा फोटो छाप्ने र ब्लक बनाउने काम पनि सुरु भएपछि समयको ठूलो बचत भयो । अब अखबारमा दुईदेखि तीनवटा फोटो छापिन थाले । समाचारजन्य फोटो पनि अखबारमा छापिन थाले । सडकमा यातायात अवरुद्ध भएको, सांस्कृतिक पर्वका फोटो क्रमशः गोरखापत्रमा प्रकाशित हुन थाले । सडकमा यत्रतत्र फोटो खिची हिँड्दा मानिसहरू मलाई उत्सुकतापूूर्वक हेर्दथे । फोटो खिच्ने काम सस्तो थिएन । क्यामरा चलाउने भनेको त्यस बेला आफ्नो परिवारको फोटो खिच्नका लागि मात्र हुन्थ्यो । बाटोमा हिँडेका मानिस, सडकमा सुतेका गाई, गोरु र बाटो छेकेर पार्किङ गरेका गाडीकोे फोटो खिच्नु भनेको अनौठो विषय थियो । मैले यस्ता फोटो खिचेको देख्दा मानिसहरू ‘यो गोरखापत्रका लागि खिचेको फोटो होला’ भन्थे ।
समय बित्दै गयो, देशमा विभिन्न राजनीतिक गतिविधि हुन थाले । २०४६ सालको राजनीतिक हलचल सबैभन्दा महŒवपूर्ण र परिवर्तन ल्याउने कदमका रूपमा मैले देख्न पाएँ । त्यस बेला गणेशमान सिंहको चाक्सीबारीमा भएको सम्मेलन अति महŒवपूर्ण थियो । भारतका विभिन्न राजनेता तथा वामशक्तिलाई एक ठाउँमा राखेर गरेको आन्दोलन अन्त्यमा आएर सफल भयो । यो क्रममा मैले धेरै फोटो खिच्ने मौका पाएँ । मलाई कुनै पनि विरोधका कार्यक्रमको फोटो नखिच्नु भन्ने आदेश थियो । यसविपरीत मैले भएका घटनाहरूको फोटो खिच्ने तथा सङ्ग्रह गर्ने काम जारी राखे । आफ्नो निजी क्यामरा तथा फिल्म प्रयोग गरेर जनआन्दोलन २०४६ को एउटा पुस्तकसमेत प्रकाशन गरेको थिएँ । ‘पिपुल पावर’ नामक यो पुस्तक मेरो पत्रकारिता जीवनको एउटा गर्व गर्नलायक काम भएको मेरो बुझाइ छ ।
गोरखापत्र संस्थानमा काम गरेर मैले धेरै सिक्ने र बुझ्ने मौका पाएँ । मेरा आदरणीय पत्रकार मित्र तथा दाइहरू भारतदत्त कोइराला, मनोरञ्जन जोशी, श्याम केसी, गोकुल पोखरेल, आदित्यमान श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, श्रीश राणा, पी. खरेल, कुन्द दीक्षित, किशोर नेपाल, पुरु रिसाल आदिप्रति आभारी छु । उहाँहरूको सरसल्लाहमा मैले गोरखापत्रको फोटो शाखालाई विभागमा स्तरोन्नति गरेँ । फोटो शाखालाई कलाफोटो विभाग भनियो । हाम्रो विभागमा कलाकार शङ्करराज सिंह सुवाल, मिलन शाक्य, वीरेन्द्रप्रताप सिंह, बलराम थापालगायत कार्यरत हुनुहुन्थ्थो । सहयोगी फोटो पत्रकारमा रामेश्वर कायस्थ, भरत श्रेष्ठ, बिन्दुराज सिंह सुवाल, राजेन्द्र चित्रकार, नातिकाजी महर्जन आदिले मलाई धेरै सहयोग गरेको अनुभव छ ।
गोरखापत्र संस्थानले क्रमशः रेडियो फोटोको सेवा पनि उपलब्ध गराउन थाल्यो । संस्थानमा २०४० सालतिर रेडियो फोटो ट्रान्समिटरद्वारा जिल्ला जिल्लाबाट काठमाडौँ फोटो पु¥याएर अखबारमा छाप्ने काम सुरु भयो । यसरी गोरखापत्र संस्थानमा झन्डै २२ वर्ष काम गरेको पत्तो नै पाइएन । नयाँ प्रविधि भिडियो डकुमेन्ट्री बनाउने कामले आकर्षण गरेपछि केही वर्ष भिडियो डकुमेन्ट्री बनाउने काममा पनि संलग्न भए ।
प्रेस फोटोग्राफरदेखि महाप्रबन्धकसम्मसंस्थानको नायब महाप्रबन्धकबाट राजीनामा गरी नेपाल टेलिभिजनका लागि ‘हाम्रो देश नेपाल’ नामको डकुमेन्ट्री बनाउन जिल्ला जिल्ला घुम्न थालेँ । आठ÷नौवटा जिल्लाको डकुमेन्ट्री बनाएर नेपाल टेलिभिजनबाट प्रसारण गरिसकेपछि देशमा राजनीतिक आन्दोलन सुरु भयो र मेरो नेपाल टीभीसँगको सम्झौता नवीकरण भएन । त्यसबेला गोरखापत्र संस्थानमा श्रीशशमशेर राणा कार्यकारी अध्यक्ष भएर आउनु भएपछि मलाई फेरि संस्थानमा बोलाइयो । केही वर्षपछि मैले यस संस्थानको महाप्रबन्धकको जिम्मेवारी पनि प्राप्त गरेँ । झन्डै एक वर्ष उक्त पदमा रहेर काम गरेपछि विभिन्न राजनीतिक तथा अन्य दबाबका कारण मैले गोरखापत्रबाट राजीनामा गरे पनि यो संस्थाको मलाई अति नै माया लाग्छ । विश्वका कतिपय प्रजातान्त्रिक मुलुकले नपाएको प्रेस स्वतन्त्रता नेपालमा छ तर कतिपय सञ्चार माध्यम आआफ्ना स्वार्थमा ढल्केर निष्पक्ष पत्रकारिताबाट विमुख भएका छन् । यस्तो अवस्थामा सरकारी सञ्चारगृह गोरखापत्रको भने आफ्नै विशेष स्थान छ ।