• ५ जेठ २०८१, शनिबार

गोरखापत्रका १४ जना पत्रकार र कर्मचारीलाई सम्मान

भट्टराई, तामाङ र थापालाई उत्कृष्ट पत्रकार–कर्मचारी सम्मान

blog

वार्षिकोत्सवको अवसरमा गोरखापत्रबाट सम्मानित हुनुहुने पत्रकार तथा कर्मचारी ।

काठमाडौं, वैशाख २२ गते । गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । 

गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार संस्थानमा कार्यरत पत्रकारिता, प्रशासन र प्राविधिक सेवाबाट एक–एक जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्न लागिएको हो । यसअघि एकजनालाई मात्रै सम्मान गरिने परम्परा थियो ।   

त्यसैगरी, दैनिक प्रकाशन गोरखापत्र, दि राइजिङ नेपाल, अनलाइन प्रकाशन, उत्कृष्ट उपत्यका समाचारदाता तथा सातै प्रदेशका एक–एक जना गरेर वार्षिकोत्सवको अवसरमा पत्रकार र कर्मचारीलाई सम्मान प्रदान गर्न लागिएको हो । 

भट्टराई, तामाङ र थापालाई उत्कृष्ट कर्मचारी सम्मान 

पत्रकारिता सेवातर्फ उत्कृष्ट सम्मान गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदारप्रसाद भट्टराईलाई प्रदान गरिएको छ । उहाँ २०५५ साल मङ्सिर २८ गते गोरखापत्र दैनिकमा सहायक समाचारदाताको रुपमा प्रवेश गर्नुभएको हो । 

उत्कृष्ट कर्मचारी प्रशासन सेवातर्फ रमेश तामाङलाई सम्मान प्रदान गरिएको छ । तामाङ २०६५ साल जेठ २१ गते सहलेखापालको रुपमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । उहाँ भण्डार शाखाको लेखापाल हुनुहुन्छ । 

प्राविधिक सेवातर्फको उत्कृष्ट कर्मचारी सम्मान हरिशरण थापालाई प्रदान गरिने भएको छ । उहाँ २०४४ साल असोज ३० गते गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । उहाँ प्रेस शाखामा हेल्परको रुपमा कार्यरत हुनुहुन्छ । उहाँहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने जानकारी संस्थान व्यवस्थापनले दिएको छ । 

चार समाचारदातालाई सम्मान 

गोरखापत्रमा उपत्यका क्षेत्र बनाएर कार्यरत चारजना पत्रकारलाई सम्मान प्रदान गरिँदैछ । गोरखापत्र संस्थानका फोटो पत्रकार विकास द्वारे, दि राइजिङ नेपाल दैनिकका इन्दिरा अर्याल,  अनलाइन प्रकाशनका गोविन्द रेग्मीलाई सम्मान प्रदान गर्ने निर्णय भएको छ । 

फोटो पत्रकार विकास द्वारे २०६५ साल कात्तिक १० गते फोटो पत्रकारको रुपमा संस्थानमा प्रवेश गर्नुभएको हो । इन्दिरा अर्याल २०७६ पुस ९ गते समाचारदाताको रुपमा राइजिङ नेपालमा सेवा सुरु गर्नुभएको हो भने गोविन्द रेग्मी २०७८ मङ्सिर १ गतेदेखि अनलाइन प्रकाशनमा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।

संस्थानमा कार्यरत देशभरका समाचारदातामध्येबाट उत्कृष्ट समाचारदाताको सम्मान पाउनुभएका केशवराज पौडेल २०७६ कात्तिक ४ गतेदेखि गोरखापत्रमा कार्यरत हुनुहुन्छ । उहाँलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ । 

सात प्रदेशबाट सात जनालाई सम्मान 

वार्षिकोत्सवको अवसरमा उपत्यका बाहिरबाट सातवटा प्रदेशबाट एक-एक जनालाई सम्मान प्रदान गर्ने निर्णय भएको छ । कोशी प्रदेशबाट भक्तिविलास पोखरेल (उदयपुर), मधेश प्रदेशबाट ललिताकुमारी साह (सप्तरी), बागमती प्रदेशबाट शान्ता अधिकारी (चितवन), गण्डकी प्रदेशबाट नवीन शिशिर विक (म्याग्दी), लुम्बिनी प्रदेशबाट नारद कोहार (कपिलवस्तु), कर्णाली प्रदेशबाट नेत्रबहादुर शाही (जुम्ला) र सुदूरपश्चिम प्रदेशबाट लोकेन्द्र जोशी (दार्चुला) सम्मानित हुन लाग्नुभएको हो ।