• ८ मंसिर २०८१, शनिबार

लोककथामा आधारित ‘द सङ्गस अफ स्कर्पियन्स’

blog

काठमाडौँ, वैशाख २२ गते । भनिन्छ, अभिनय कहिल्यै मर्दैन । आफ्नो कलाको माध्यमबाट एउटा कलाकार दर्शकको मनमा सदैव बाँचिरहेको हुन्छ । तीन वर्षअघि निधन भएका भारतीय चलचित्रका अब्बल अभिनेता इरफान खान दर्शकमाझ नभए पनि उहाँ अभिनित चलचित्रहरू यतिबेला भारतीय चलचित्र भवनहरूमा प्रदर्शन भइरहेका छन् । विविध कारणले समयमा प्रदर्शन हुन नसकेको उहाँ अभिनित चलचित्र ‘द सङ्गस अफ स्कर्पियन्स’ उहाँको तेस्रो पुण्यतिथिको अवसरमा आएको छ । 

राजस्थानको जैसलमेरको थार मरुभूमिको पृष्ठभूमिमा बनाइएको चलचित्रको कथा लोककथाबाट प्रेरित छ । एउटा पुरानो ‘मिथक’ अनुसार बिच्छुले टोकेपछि २४ घण्टाभन्दा कम समयमा मानिसको मृत्यु हुनसक्छ । उसका लागि बाँच्नका लागि एक मात्र उपाय भनेको बिच्छुको विष मेटाउन विशेष गीत गाउनु हो । जनजाति समुदायकी नुरन (गोलसिफ्तेह फराहानी)ले बिच्छुको टोकाइसँग लड्ने सीप आमा (वहिदा रहमान)बाट सिक्नुभएको हुन्छ । जसले गर्दा उहाँ गाउँमा चर्चित बन्नुहुन्छ ।  

उँट व्यापारी आदम (इरफान खान) उहाँसँग विवाह गर्न चाहनुहुन्छ । त्यसपछि एउटा डरलाग्दो घटनाका कारण नुरन आफ्नो गीत गाउने पेसाबाट टाढा रहनुपर्ने अवस्था आउँछ । गाउँलेको दबाबका कारण उहाँ विवाह गर्न बाध्य हुनुहुन्छ । विवाहपछि नुरनले आफूलाई के भयो भन्ने सत्यता थाहा पाउनुहुन्छ । के उहाँले त्यो घटनाको बदला लिनुहुन्छ ? चलचित्रको कथा यिनै कुराको वरपर घुमेको छ ।  

चलचित्रलाई अनुप सिंहले निर्देशन गर्नुभएको छ । उहाँले यसअघि इरफानलाई चलचित्र ‘किस्सा–द टेल अफ लोन्ली घोस्ट’ मा अभिनय गराउनुभएको थियो । निर्देशक अनुपले जसरी चलचित्रभित्र पात्रहरूलाई सिर्जना गर्नुभएको छ, दर्शकले उहाँहरूको मनसाय बुझ्ने र व्यक्तित्वभित्र लुकेका तहहरू पत्ता लगाउन सक्ने सम्भावना कम छ । 

अपरिपक्व प्रेम, बदला, त्याग र समर्पणको कथा रहेको चलचित्र सुस्त गतिमा अघि बढ्छ तर आदमको पृष्ठभूमिको पूर्ण ज्ञान नभएका कारण उहाँको व्यक्तित्व बुझ्न अलि गाह्रो हुन्छ । उहाँको चरित्रलाई अलि बढाउनुपर्ने थियो, निर्देशक त्यसमा चुक्नुभएको देखिन्छ तर निर्देशकले चलचित्रको अन्त्यलाई सुन्दर ढङ्गले चित्रण गर्नुभएको छ । एकातिर नुरन गीत गाउँदै आफ्नो भित्रको विषसँग लडाइँ गरिरहेकी हुन्छिन् भने अर्कोतर्फ जीवन तहसनहस पार्ने व्यक्तिसँग पनि उनी लडिरहेकी हुन्छिन् । चलचित्रको संवादमा राजस्थानी भाषा पनि मिसिएको छ । 

चलचित्रमा इरफानको अभिनय अविस्मरणीय छ । मध्यान्तरसम्म उहाँ अधिकांश समय कम संवादमा देखिनु भए पनि उहाँले आफ्नो आँखाले आफ्नो उपस्थिति जनाइरहनुभएको हुन्छ । नुरनको भूमिकामा इरानी अभिनेतृ गोलसिफ्तेह फराहानीको अभिनय उत्कृष्ट छ । उहाँ राजस्थानी वातावरणसँग सजिलै घुलमिल हुन सक्नुभएकी छ । उहाँले नुरनको व्यवहार, शारीरिक भाषा र पीडालाई विश्वस्त रूपमा आत्मसात् गर्नुभएको छ । वहिदा रहमानलाई आमाको भूमिका सुहाएको छ । आदमको साथीको भूमिकामा देखिनुभएका कलाका शशाङ्क अरोराको अभिनयबाट धेरै प्रभावित हुन सक्छन् ।