• १३ साउन २०८१, आइतबार

डिजेल आयात २६ प्रतिशतले घट्यो

blog

काठमाडौँ, वैशाख २१ गते ।  बजारमा डिजेलको खपत घटेसँगै आयातमा २६ प्रतिशतले कमी भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म खपत कम हुँदा डिजेल आयात २६ प्रतिशतले घटेको हो । चालु आवको नौ महिनामा आयात घटेर १० लाख ३६ हजार किलोलिटर डिजेल आयात भएको छ । पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम नहुँदा खपत घटेसँगै डिजेलको आयातमा उल्लेख्य कमी आएको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि नबढ्नु, बिजुलीको प्रयोग बढ्नु र भारतभन्दा नेपालमा डिजेलको मूल्य महँगो हुँदा खपत घटेकाले आयातमा कमी आएको जानकारी दिनुभयो । निगमका अनुसार २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक प्रयोजनका लागि प्रयोग हुने गरेको छ । बैङ्कको उच्च ब्याजदर र आर्थिक सङ्कटका कारण औद्योगिक क्षेत्र पूर्ण रूपमा चल्न सकेका छैनन् । हाल बजारमा डिजेल मासिक एक लाख नौ हजार किलोलिटर खपत हुने गरेको छ । 

इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, डिजेलको मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कमी भएको निगमले जनाएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगत खर्च ३१.१६ प्रतिशत रहेको छ । विकास निर्माणको काम नहुँदा डिजेलको खपतमा समेत उल्लेख्य कमी आएको हो । अर्थविद् डा. चन्द्रमणि अधिकारीले विकास निर्माणको काम नभई डिजेल खपत घट्दा अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्ने बताउनुहुन्छ । डिजेल आयात घट्दा व्यापार घाटा कम भए पनि अर्काेतिर विकास निर्माणको नहुँदा डिजेल खपत घट्नु सकारात्मक नभएको उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्ष नेपालमा डिजेलको मूल्य सस्तो हुँदा सामान बोकेर आएका भारतीय 

सवारीसाधनले नेपालमै डिजेल भरेर जाने गरेकामा अहिले भारतमा मूल्य सस्तो हुँदा भारतबाटै तेल भरेर नेपालमा आउने गर्दा खपतमा कमी निगमको भनाइ छ । 

विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठूला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ । मुलुकमा पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण उद्योग कलकारखाना पूर्ण रूपमा चलेका छैनन् । विकास निर्माणको काम सुस्त गतिमा हुँदा कारणले डिजलको खपत घटेको छ । त्यस्तै डिजेल खपत गर्ने यात्रुवाहक सवारीको विकल्पमा विस्तारै उपभोक्ता विद्युतीय गाडीमा परिवर्तन हुन थालेका छन् । जसका कारण पनि डिजेल खपत घटेको छ । 

यस्तै पेट्रोल आयात ८ दशमलव ७७ प्रतिशतले कमी भएको निगमको तथ्याङ्क छ । चालु आवको नौ महिनामा पाँच लाख ३२ हजार २०८ किलोलिटर आयात भएको छ । मूल्य बढेका कारण पेट्रोलको खपतमा समेत कमी आएको हो । हाल मासिक पेट्रोल खपत ५६ हजार किलोलिटर रहेको छ । नौ महिनामा मट्टीतेल आयात ४ प्रतिशतले घटेर नौ हजार ६४ किलोलिटर आयात भएको छ । ग्यासको आयात भने ३ दशमलव १३ प्रतिशतले कमी आएर चार लाख छ हजार ७८५ मेट्रिक टन आयात भएको निगमले जनाएको छ । हाल मासिक ग्यासको खपत ४२ लाख ८१९ मेट्रिक टन रहेको छ ।

हवाई इन्धनको आयात भने १३ प्रतिशतले बढेर एक लाख ४१ हजार किलोलिटर आयात भएको छ । उडान नियमित रूपमा भएकाले पनि हवाई इन्धनको आयात बढेको निगमले जनाएको छ । हाल बजारमा मासिक १४ हजार ८७७ किलोलिटर खपत हुने गर्छ । 

चालुु आर्थिक वर्षको नौ महिनामा दुई खर्ब २४ अर्ब ५७ करोड ५७ लाख १३ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको निगमको तथ्याङ्क छ ।