• १३ साउन २०८१, आइतबार

खेतमै कुहिन थाल्यो गहुँ

blog

दोलखा, वैशाख २१ गते । दोलखाका किसानलाई यति बेला हिउँदे मुख्य बाली गहुँ थन्क्याउने चटारो परेको छ । मङ्सिर,पुसमा छरेको गहुँ हिजोआज  खेतैभरि पहेँल पुर भएर पाकेपछि किसानलाई गहुँ थन्क्याउने चटारो परेको स्थानीय किसान दल बहादुर राउतले बताउनु भयो । 

धानपछिको मुख्य बाली गहुँ समयमा पाके पनि मौसम खराबीका कारण थन्क्याउन पाएका छैनन् । वैशाख लागेदेखि नै परेको लगातारको झरीले खेतमै गहुँ कुहिन थालेको छ । गहुँ काट्ने, चुट्ने र थन्क्याउने सिजन चलेकै समय मौसम धुम्म बन्दै लगातार झरी परेको कारण किसान मारमा परेका हुन् । पाकेको गहुँ बाली काटेर सके पनि घाम नलागेको कारण सुकाउन नपाएकाले गहुँमा कालो पसेर कुहिन नष्ट हुन थालेको उहाँले दुखेसो पोख्नु भयो । 

यति बेला जिल्लाका टारी खेतमा लगाइएको गहुँ काट्ने समय सुरु भएको छ । हिउँदमा लगाइएको गहुँ काट्ने तथा टिप्ने चटारो चलिरहेको समयमा मौसम धुम्म बनेर घाम नलाग्दा जिल्लाका सबै गहुँ किसान मारमा परेका छन् । मौसम परिवर्तन भएसँगै पछिल्लो दुई सातादेखि दोलखामा मौसम खुल्न सकिरहेको छैन । लगातार मौसम धुम्म हुने तथा छिनछिनमा पानी पर्दा किसानले गहुँ थन्क्याउन नपाएका हुन् । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर १,२,३,४,५ र ६ का दर्जनौँ किसानले खेतमै गहुँ काटेर त्रिपाल ओढाएर राख्न बाध्य भएका छन् ।

यहाँका सयौँ रोपनी खेतमा लगाइएको गहुँ बाली घाम नलागेको कारण काट्न र कुट्न समस्या भएको स्थानीय किसान नवीन दाहालले बताउनु भयो । दाहालले १० रोपनीमा खेतमा लगाएको गहुँ काट्न भ्याए पनि घाम नलागेको कारण कुट्न र थन्क्याउन पाउनु भएको छैन । अघिल्लो वर्ष असिनाले धेरै गहुँ क्षति गरे पनि यस वर्ष अहिलेसम्म असिना नपरेको तर दैनिक छिनछिनमा पर्ने पानीले थुपारेकै ठाउँमा गहुँ कुहिन,उम्रन लागेको बैतेश्वरका स्थानीय किसान गणेश कार्कीले बताउनु भयो ।

गहुँ बालीको खेती वृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ । गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्या भई रहका बेला किसान पछिल्लो समय प्रविधिको प्रयोग गर्दै गहुँ कुट्ने गर्छन् । परम्परागत गहुँ झार्ने पुरानो काम गर्ने शैलीलाई त्यागेर जिल्लाका किसान थ्रेसरप्रति आकर्षित भएका छन् । दुई तिन दिन गहुँ नसुकाए थ्रेसरले गहुँ नचुट्ने हुँदा  किसानलाई घाम नलागेर गहुँ थन्क्याउन समस्या भएको हो । अझै मौसम खुल्न नसकेकाले गहुँ बालीमा थप क्षति हुने भन्दै यहाँका किसान चिन्तित बनेका छन् ।

Author

बाबुराम शर्मा