• १ पुस २०८२, मङ्गलबार

जलविद्युत काममा ढिलाइ

blog

जुम्ला समाचारदाता

जुम्ला, वैशाख २० गते । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत उत्पादन हुन सकेको छैन।

उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन समिति, स्थानीयदेखि सरोकारवाला निकायको जोड छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले कामको गति हेर्दा समयमा बनाउने विषयमा निर्माण व्यवसायीले आनाकानी गरिरहेको बताउनुभयो। उहाँले केही स्थानमा गुणस्तरहीन काम गरिएकाले पुनर्निर्माण गरिनुपर्ने बताउनुभयो। गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जुम्लाकै समृद्धिका लागि जनताको ठूलो ऋणको रकमसमेत यस आयोजनामा लगानी भएकाले ढिलाइ भए समस्या आउने बताउनुभयो।

कामको ढिलाइ तथा क्यानल पर्खाल चर्किएको विषयमा गुनासो आएपछि स्थानीय तहसहित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काम गरिरहेको निर्माण कम्पनीसहितको टोलीले आयोजना स्थलको अनुगमन गरेको छ। 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले चुकेनी जलविद्युत विषयमा तुरुन्तै जिल्लास्तरीय बैठक बसेर काम चाँडो र गुणस्तरीय काम छिटो सम्पन्न गर्न निर्देशन दिइने बताउनुभयो। निर्माण कम्पनीले दशैँसम्ममा बत्ती बाल्ने तयारीसाथ निर्माण अघि बढाइरहेको दाबी गरेको छ। निर्माणको जिम्मा लिएको फेवा कन्स्ट्रक्सन प्रालि पोखराले स्थानीयस्तरमा मेघा कन्स्ट्रक्सन प्रालिमार्फत काम गरिरहेको छ। मेघा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीका अनुसार अहिले मुख्य पाइप जडानको काम भइरहेको छ। सामान ल्याउने काम फागुनमा हुनुपर्नेमा बाटोका कारण केही ढिला भएको बताइन्छ।