• १३ साउन २०८१, आइतबार

सडकले खोल्यो लुलाङ गाउँको समृद्धि

blog

सडक सुविधा पुगेको लुलाङ गाउँ । तस्बिर : ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख २० गते । धवलागिरि गाउँपालिका -२ लुलाङकी ७७ वर्षीया धोबी विक घर आँगनमा बस आउँदा दङ्ग हुनुहुन्छ । गाउँपालिका केन्द्र सम्म पुगेको सडक विस्तार गरेर चार महिना अघि दुर्गम लुलाङ गाउँमा सडक पुगेको हो । सडक पुगेसँगै दुर्गम गाउँ सुगम जस्तै भएको छ । लुलाङवासीहरु घर आँगनबाट बस चढेर बजार झर्न पाएका छन् । 

विकले भन्नुभयो, ‘‘उबेला नुन तेल किनमेल गर्न बटौली (हालको बुटवल) बजार पुग्नुपर्दथ्यो । घर आइपुग्दा २२ दिन लाग्थ्यो । अहिले घर आँगनमै गाडीले दैनिक उपभोग्य वस्तुहरू ल्याइदिन्छ । हाम्रै पालामा गाउँमा गाडी आउँला भन्ने सोचेकी थिइन । घर आँगनमा गाडी आउँदा सपना जस्तो लागे छ ।’’ 

लुलाङमा सडक पुगेपछि गाउँलेको जनजीवन फेरिएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो । सडकले गाउँमा आर्थिक गतिविधि पनि बढाउनुका साथै रोजगारी सिर्जना भएको छ वडाध्यक्ष विकले भन्नुभयो, ‘‘दैनिक उपभोग्य वस्तुहरू सुलभ दरमा उपलब्ध छन् । पैसा हुनेले गाडी खरिद गरेर सञ्चालन गरेका छन् । हाम्रो गाउँमा सडक मात्र आएको छैन सडक सँगै समृद्धि पनि आएको भित्रिएको छ ।’’ पालिकाको १ नम्बर वडाका गुर्जावासीले खाद्यान्न र लत्ताकपडा किनमेल गर्न आउने भएकाले गाउँमा चहलपहल बढेको उहाँले बताउनुभयो । 

स्थानीय सरकार आएपछि लुलाङ गाउँमा सडक पुर्‍याउन प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण गाउँमा सडक पुग्न सम्भव भएको हो । सडकले गाउँको विकासमा ढोका खुलेको वडाध्यक्ष विकले बताउनुभयो । 

गाउँमा सडक पुगेपछि गाडीले दैनिक उपभोग्य सामग्री घरघरमा पुर्‍याएका छन् । नुन तेल खरिद गर्न बजार झर्नुपरेको छैन । जसले गर्दा समय र पैसाको बचत भएको छ । गाउँमा सानातिना पसलहरू खुलेका छन् । 

सडक पुगेपछि कसैले गाडी खरिद गरेर चलाउन थालेका छन् । वैदेशिक रोजगारीमा विदेश पुगेका युवाहरू गाउँ फर्किएर केही न केही व्यवसाय सञ्चालन गर्न थालेका छन् । १९ वर्ष वैदेशिक रोजगारी गरेर गाउँ फर्किनुभएका भक्तसिंकिजा पुन मगरले बोलेरो जिप खरिद गरेर सञ्चालन गर्नुभएको छ । उहाँले भन्नुहुन्छ,‘‘गाउँमा सडक आयो,खाली बस्नुभन्दा केही न केही गरौँ भनेर गाडी किनेर सञ्चालन गरेको छु ।’’ 

सडक आएसँगै विकास योजनाहरूमा आवश्यक पर्ने निर्माण सामग्रीहरू ल्याउन सहज भएका कारण विकास निर्माणले गति लिएको छ । 

सडक सुविधा नहुँदा नुन तेल लिन दुई घण्टा पैदल यात्रा गरेर पालिका केन्द्र मुना सम्म पुग्नुपर्दथ्यो लुलाङकी गौश्वरा विकले भन्नुभयो, ‘‘सडक आएपछि निकै सहज भएको छ । गाउँकै युवाले गाडी हालेका छन् । फोन गर्‍यो घरमै सामान ल्याइदिन्छन् ।’

लुलाङ खोरियाका ओमबहादुर विकले उबेला बटौली पुगेर गाडी देखेको सम्झनुभयो । आफ्नै पालामा गाउँमा गाडी आएको अचम्म लागेको छ उहाँले भन्नुभयो, ‘‘गाउँमा सडक आएपछि बिरामी हुँदा अस्पताल जान र खाद्यान्न ल्याउन सहज भएको छ । हप्तौँ दिन लगाएर बटौली  पुगेर नुन तेल बोकेर ल्याएको हुँ ।  दुर्गम गाउँ सुगम होला भन्ने सपनामा पनि देखेको थिइनँ ।’’   

गाउँपालिका र प्रदेश सरकारको बजेटबाट मुना देखि लुलाङ सम्म सडक पुर्‍याइएको हो । सडकले लुलाङवासीलाई निकै सहज बनाउनुका साथै रोजगारी पनि सिर्जना गरेको वडाध्यक्ष विकले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘गाउँमा सडक आएसँगै केही युवाले यातायातका साधनमा लगानी गरेका छन् । जिप,ट्याक्टर र गाडी किनेर स्वरोजगार बनेका छन् ।’’ लमसुङ स्थित दरखोलामा पक्की पुल र सडक स्तरोन्नति गर्न वडाले पहल गरेको उहाँले बताउनुभयो । 

बाह्रै महिना यातायातका साधन सञ्चालन गर्ने गरी गाउँपालिकाले सडक स्तरोन्नति योजनालाई प्राथमिकतामा राखेको पालिका  उपाध्यक्ष रेसम पुन मगरले बताउनुभयो । 


Author

ठाकुरप्रसाद आचार्य