मेरो गाउँ (खार्पुनाथ गाउँपालिका) साक्षर भएको छ । हुम्लामा साक्षर हुने गाउँपालिकामा पहिलो र नमुना गाउँ नै घोषणा भएछ । यो खबर सुनेर आज म धेरै खुसी छु । एक किसिमको सपना पूरा भएको छ । यदि खुला दिसामुक्त घोषणा गाउँजस्तै भएनछ भने ।
३४ वर्ष अगाडि म बुहारी बनेर त्यो गाउँ (खर्पेलगाउँ) जाँदा आधाजति मात्र युवा साक्षर थिए होलान् । एसएलसी पास गर्नेको सङ्ख्या ज्यादै न्यून थियो । तीन जना छोरीहरू सरकारकै खर्चमा महिला फिडर छात्रावासमा पढिरहेका थिए । त्यतिबेला त्यो पनि ठूलो कुरा हो । अहिले सम्झिँदा लाग्छ ती छोरीहरू भाग्यमानी नै हुन् । ती छोरीहरूका आमाबाबु विशाल छाती भएका महान् व्यक्ति मान्नुपर्छ । । त्यसपछि त्यो गाउँमा साक्षर हुने महिलामा पहिलो म नै भएँ तर म बुहारी थिएँ त्यो गाउँकी । म पनि पूर्ण शिक्षित त थिइनँ । साक्षर नै थिए त्यतिबेला तर मसँंग शिक्षण गर्ने तालिमप्राप्त गरेको प्रमाणपत्र थियो । त्यसैको आधारमा मैले गाउँकै विद्यालयमा अध्यापन गर्ने अनुमति पाए । त्यो गाउँकै पहिलो महिला शिक्षक म नै थिए । मजस्तै तालिम गरी शिक्षक बन्ने अरू तीन चार जना पुरुष पनि थिए । उनीहरू पनि यसै पालिकाभित्रका गाउँमा पढाउँथे ।
त्यहाँबाट यहाँसम्म आइपुग्दा अहिले झन्डै चार दशक पुग्न लागेछ । अहिलेको पुस्ताले यस्ता कुराहरू सुन्यो भने कहानी भन्ला । गाउँमा महिलाले कुर्थासुरुवाल लगाउने चलन आइसकेको थिएन । त्यतिबेला साडीको सप्को हालेर स्कुल पढाउन गएको देखेर गाउँलेहरू नौलो मान्थे । सायद खुला शिर र साडीको सप्को देखेर अचम्म लाग्दो हो गाउँलेहरूलाई । हुन सक्छ मेरो गाउँका ससुरा जेठाजूहरूले पहिलोचोटि एउटी बुहारीको शिर खुला नजर भएको । नाकबिना बुलाकी, बिना चाँदीका कल्ली बालाकी, शिर नढाकी खुला गरेकी, ओढ्ने नओढेकी, कपाल कोरीबाटी गरेकी, ओठमा लाली, हातमा बज्ने चुरा, नङमा रङ लगाएकी कस्ती अचम्मकी बुहारी भिœयाए छन् खरदारले । अचम्म मानीमानी थाडा (कौसी) को डिलमा उभिएर मलाई हेर्थे ।
यो सबै कुरा त्यो जमानामा अनौठो नै थियो । कामको बोझले होला सायद महिनौँ नुहाइधुवाइ गर्दैनथे हाम्रा दिदीबहिनी । कपाल नुहाएको दिनमा कपालमा लाउने तेलको अभाव खड्किन्थ्यो । सुकिलो त गौरा खेल्दा मात्रै ओड्ने चलन थियो । फरियाभित्र पेटीकोट लाउन पाउनु ठूलो कुरा थियो । छुइ हुँदा नुहाएको दिनमा फेर्ने कपडाको अभाव हुन्थ्यो । भित्री लुगा लगाउने चलन थिएन । गोडामा जुत्ता चप्पल कसैकसैले मात्र लगाउँथे । टालेका कपडाले मुस्किलले पानी भेट्थ्यो होला । सुत्केरीलाई गोठमा राखिन्थ्यो । महिनावारी भएकोलाई छुइखुला (महिनावारी भएको बेलामा सुत्नका लागि बनाइएको छाप्रो) मा राखिन्थ्यो । कसको बुहारीले दाउरा र घाँसको भारी ठूलो ल्याउँछ, बिहान कसको घरमा चाँडो आगो बल्छ भन्ने मूल्याङ्कन गरिन्थ्यो । यस्तो बेलामा हात खुट्टाका नङमा रङ लगाएकी बुहारी देखेपछि अचम्मित भएर हेर्नु स्वाभाविकै हो । आज मलाई लाग्छ, सायद म पनि नमुना बुहारी पो थिए कि त्यस बेलाकी ?
छोरीहरूलाई साना हुँदा आफूमुनिको भाइबहिनी धरालो राख्ने र ठूला भएपछि गाईबस्तुको गोठालो पठाउने चलन थियो । कुनै कुनै घरका छोराहरू मात्रै स्कुल जान्थे । सबै छोराले पनि पढ्न पाएका थिएनन् । झन् छोरीले त कहाँ स्कुल जान पाउनु । म त्यहीँको स्कुलमा पढाउन थालेपछि बिस्तारै छोरीहरू पनि स्कुल आउन थाले । बिस्तारै पढ्ने कामको साथसाथै स्कुलका अतिरिक्त क्रियाकलापमा पनि भाग लिन लगाउन थालियो । अभिनय, नाचगानमा भाग लिन लगाउन थालियो । छात्रामा पनि त्यो सीप विकास हुँदै गयो तर जहिले पनि छोरीहरू छोराभन्दा कक्षामा कमजोरै भएर निस्किन्थे । किनभने घरमा उनीहरूको थप काम हुन्थ्यो । गृहकार्य गर्न नभ्याउने, घरमा पढ्न नपाउने, निद्रा पुग्ने गरी सुत्न नपाउनेजस्ता कारण उनका पढाइका बाधक हुन्थे ।
निम्न माध्यमिकपछिको पढाइका लागि गाउँमा स्कुल थिएन । माध्यमिक शिक्षा हासिल गर्न कि त सदरमुकाम सिमकोट कि त छिमेकी गाउँ लाली जानुपर्ने हुन्थ्यो । यी रोजाइ नै सबैभन्दा नजिकका हुन् । घर बाहिरै भए पनि छोराहरूलाई त जसोतसो सातुसामल मिलाएर पठाइन्थ्यो तर छोरीहरूको शिक्षा भने यतिमै बिट मार्नुपर्ने बाध्यता हुन्थ्यो । माध्यमिक स्तरको पढाइ पूरा गर्न नपाउँदै विवाह गर्नुपर्ने हुन्थ्यो । त्यसैले होला, छोरीलाई स्कुल पढाउनुभन्दा घरको कामकाज घरधन्दा सिकाउनु र आफ्नो सहयोगी राख्नुमा आमाहरू पनि खुसी देखिन्थे । उनीहरू भन्थे, हामी छोरीको जातले अर्काको दैलो चुलो नगरी सुखै पाइँदैन । त्यो काम नसिकाएर किन पढाउने छोरीलाई । स्कुल पठायो भने त्यो सबै काम सिक्न पाउँदैनन् र पछि अर्काको घरमा गएर काम नजान्दा दुःख पाइन्छ । त्यसैले स्कुल जानुभन्दा काम सिक्नुमै फाइदा हुन्छ ।
अब जमाना त्यो रहेन । गाउँका महिला धेरै हदमा सुखी भएका छन्, गाउँमै माध्यमिक स्कुल छ । छोराहरू सहरका बोर्डिङमा आए पनि अझै त्यहाँ पढ्नेको सङ्ख्या ठूलै छ । सबै घरका छोरी स्कुल जान्छन् । गाउँका बुहारीहरू प्रायः पढेलेखेका छन् । नपढेकाले पनि अनौपचारिक शिक्षाबाट पढ्न लेख्न जान्ने भएका छन् । सबैका हातमा मोबाइल छन् । गाउँमै बिजुली बलेको छ । गाउँमै कुटानी पिसानीका काम गर्ने मिल राखेका छन् । हातले चिनु फापर कुटीपिसी गर्नु पर्दैन । ओखर, चुली, खामु र ढटेलोको तेल पनि मेसिनले नै पेल्छ । ओखलमा कुटेर हातले पेल्नु पर्दैन । घरमा टेलिभिजन राखेका छन् । मोबाइलबाटै समाचार सुन्छन् । समूहमा छलफल गर्छन् । आपसमा समस्या सुल्झाउँछन् । आर्थिक जोहो गरेर सानोतिनो समस्या समाधान गर्छन् । विकासका काममा सहभागी हुन्छन् । गाउँका बैठकमा भाग लिन्छन्, समस्या बैठकमा राख्छन् । प्रायःजसो घरका छोरी पढेलेखेका छन् । आफ्नै गाउँठाउँमा जागिर खाएका छन् । गाउँमा भित्रिने बुहारी पनि प्रायः घरमा पढेलेखेका आएका छन् । कोही जागिर गर्छन् । कोही व्यवसाय गर्छन् ।
यस्तैखाले विविध आधारमा हेर्दा गाउँघरले विकासमा फड्को मारेको देखिन्छ तापनि शिक्षा क्षेत्रमा सोचेजस्तो विकास अझै हुन सकेको छैन । अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नै छन् । यस्तो अवस्थामा खार्पुनाथ गाउँपालिका साक्षर गाउँपालिका बन्न सक्नु आफैँमा चुनौतीको विषय हुन सक्छ । तर नेपाल सरकारले तोकेका मापदण्ड पूरा भएका कारण साक्षर गाउँपालिका घोषणा भएको छ । यो गाउँपालिकामा बसोबास गर्ने १४ देखि ६० वर्ष उमेर समूहका ९५.०५ प्रतिशतभन्दा बढी नागरिकले अङ्क, अक्षर लेखपढ गर्न सक्ने भएपछि पालिकालाई साक्षर घोषणा गरिएको हो ।
लेखक कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्य हुनुहुन्छ ।