• २८ वैशाख २०८२, आइतबार

जति नै पहुँच भए पनि मिटरब्याजीलाई छाडिन्न: गृहमन्त्री श्रेष्ठ

blog

सर्लाहीको बागमतीमा शनिबार नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा गृहमन्त्री श्रेष्ठ । तस्बिर: जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख १६ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडक जति नै पहुँचवाला र स्थापित भए पनि सरकारले नछाड्ने बताउनुभएको छ । 

सर्लाहीको बागमतीमा शनिबार नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजी जस्ता शोषकको पक्षमा लाग्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो । “मिटरब्याजविरुद्ध सरकारले आयोग गठन गरी नयाँ कानुन ल्याएर काम गर्ने प्रक्रिया अघि बढाइसकेको छ,” गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “कहिँकतै मिटरब्याजीको पक्षमा कुनै पनि पार्टीका कार्यकर्ता देखा प¥र्यो भने उ जति सुकै सम्पन्न, पहुँचवाला वा स्थापित होस्, त्यस्ता कसैलाई पनि छोडिन्न, शोषकको पक्षमा लाग्ने सबैलाई कारबाहीको दायरामा ल्याएरै छाड्छौँ ।”

गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिलाउन र मिटरब्याजीले लिएको सम्पत्ति फिर्ता गराउन लागिपरेको बताउनुभयो । उहाँले आइतबार जनकपुरमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालय नै स्थापना गरेर मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने जानकारी दिनुभयो ।

सर्लाहीमा स्वर्गीय डाचाराज वाग्लेसँगै कमल बुढाथोकी, भरतकुमार थापासहित आफू समेत सामेल भएर मिटरब्याज पीडकलाई सजाय दिलाएको र केही पीडकलाई कारागार चलान गर्न समेत सफल भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ । 

उहाँले सर्लाही जिल्ला मिटरब्याजी पीडितको न्यायको निम्ति आन्दोलनको नायक जिल्ला रहेको बताउनुभयो । 

मिटरब्याजविरुद्धको आन्दोलनमा लागिरहँदा तत्कालीन नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शङ्कास्पद मृत्यु भएको गृहमन्त्री श्रेष्ठको भनाइ छ । उहाँले घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अहिले पनि अनुसन्धान गरिरहेको बताउनुभएको छ ।  

गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताउँदै श्रमिक, गरिब, निमुखा र पहुँच नभएका जनताको कामलाई पहिलो प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले बागमती नगरपालिकाले वडा नं. ११ स्थित बागमती नदी किनारमा निर्माण गरेको १३ वटा घर लोपोन्मुख पहरी परिवारलाई हस्तान्तरण गर्नुभएको छ । 

गृहमन्त्री श्रेष्ठ र बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले संयुक्त रूपमा पहरी बस्तीकी बयोवृद्धा ठुलीमाया पहरीलाई बस्तीको साँचो हस्तान्तरण गर्नुभयो । स्याउले घरमा बस्दै आएका पहरी समुदायका ७० जना सदस्य रहेको १३ परिवारलाई एक करोड ५३ लाख रुपियाँको लागतमा टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको बागमती नगरपालिकाले जनाएको छ । 

प्रत्येक परिवारलाई शौचालयसहितको तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । बागमती किनारको जङ्गलमा स्याउले घर बनाएर बसिरहेका पहरी समुदाय नगरपालिकाले पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि दङ्ग परेका छन् । 

मधेश प्रदेश सरकारको ३० लाख र बाँकी बागमती नगरपालिकाको बजेटबाट पहरी बस्ती निर्माण गरिएको हो ।