• २३ फागुन २०८२, शनिबार

ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता कायमै

blog

मुख्य निर्वाचनको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा मतगणना । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको हालसम्मको मत गणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता कायम राख्नुभएको छ । काँग्रेसका तुम्याहाङले एक हजार ९३३ मतका साथ अग्रता कायम गर्नुभएको हो ।

हालसम्मको मत परिणामअनुसार नेकपा एमालेका क्षितिज थेबेले एक हजार ६८० मत प्राप्त गरी दोस्रो स्थान कायम गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग) भने एक हजार ३४४ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ६५१ मत, श्रम संस्कृति पार्टीका सन्तोष राईले ३२७ मत प्राप्त गरी चौथो र पाँचौं स्थानमा रहनुभएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिकाका वडाहरुको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

ताप्लेजुङमा रहेको कुल ९० हजार ३२७ मतदातामध्ये बिहीबार भएको निर्वाचनमा ४६ हजार ४७४ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विकास श्रेष्ठका अनुसार मतगणना शुक्रबार दिउँसो १ः५० बजेदेखि सुरु गरिएको हो ।