• १३ साउन २०८१, आइतबार

मिलीजुली दिदीबहिनी समूह चौतारी संरक्षण अभियानमा (फोटो फिचर)

blog

मिलीजुली दिदीबहिनी समूहले निर्माण गरेको चौतारी । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १६ गते । तनहुँको म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीस्थित मिलीजुली दिदीबहिनी समूहले चौतारी संरक्षण गर्न कम्मर कसेर लागेका छन् । अभियानका क्रममा समूहले चन्दा सङ्कलन गरी एक चौतारी निर्माण गरेका छन् ।  

थकान मेटाउने चौतारीको अस्तित्व सङ्कट पर्न थालेपछि सचेतना जगाउन चौतारी निर्माण गरिएको हो । 

थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा थकान मेटाउन गाउँमा सबैलाई पायक पर्ने स्थानमा चौतारी निर्माण गरिएको मिलीजुली दिदीबहिनी आमा समूहका अध्यक्ष हेमा पौडेल खनालले जानकारी दिनुभयो । 

‘‘मोटरबाटो लैजाँदा रुख ढाली दिने र मानिसहरू चौतारीमा भन्दा एसी र पङ्खाबाट शीतल लिने गरेकाले नयाँ रुख रोप्न नचाहने गरेकाले चौतारी लोप हुँदै गएकाले चन्दा सङ्कलन गरी निर्माण गरेका हौँ ।’’ खनालले भन्नुभयो । 

एक लाख ६६ हजार रुपियाँ चन्दा सङ्कलन र गाउँपालिकाको दुई लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरी चार लाख ४२ हजार पाँच सय रुपियाँ लागतमा चौतारी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले चौतारीको संरक्षण गर्न जरुरी रहेको बताउनुहुन्छ । वरपिपलले हानिकारक कीराहरूको नास गरिदिने, बा¥हैमास स्वच्छ हावा दिने भएकाले पर्यावरणीय दृष्टिकोणले धेरै महत्त्व रहेको काफ्ले बताउनुहुन्छ । सलह, अमेरिकी फौजी कीराजस्ता हानिकारक कीरा नियन्त्रण गर्न वर पिपल, आँप तथा मसीका रुखले भूमिका खेल्ने उहाँले जानकारी दिनुभयो । वरपिपलबाट बाँदरले आहारा पाउने भएकाले यसको संरक्षण गर्दा बालीमा हानी कम गर्ने काफ्लेले बताउनुभयो ।