• ८ मंसिर २०८१, शनिबार

भूकम्पको इतिवृत्त

blog

हाम्री हजुरआमा बेलुका अँगेनाको डिलमा बसेर हामीलाई कहिले पौराणिक कथा, कहिले लोककथा कहिले गाउँखाने कथा सुनाउनु हुन्थ्यो । एक साँझ उहाँले एउटा गाउँखाने कथा भन्नुभयो–हुन पनि हो, छ न पनि छ, खोज्दा पनि पाइँदैन, कसैलाई पनि चाहिँदैन के हो ? हामी निकैबेर घोत्लिँयौँ तर कसैलाई पनि उत्तर आएन ।  हजुर आमाले हाँस्तै भुइँचालो भन्नुभयो । भुइँचालो के हो र कस्तो हुन्छ भनेर सोध्दा उहाँले विसं. १९९० को भुइँचालोको विनाश लीला सुनाउनु भयो ।

भूकम्पबारे मेरो बाल मस्तिष्कमा पसेको यो जिज्ञासा काठमाडौँ नयाँ सडक भूगोल पार्कको शिलालेखमा ९० सालको भूकम्पको त्रासदीबारे पढेपछि झन् बढ्यो । विसं. २०३७ मा सुदूरपश्चिममा भूकम्प गयो । विसं. २०४५ मा पूर्वी नेपालमा गएको भूकम्पको धक्काले काठमाडौँ पनि हल्लियो । 

यस्तैमा विसं. २०७२ वैशाख १२ मा अर्को विनाशकारी भूकम्प आयो । त्यसबाट टुप्पामा रहेका मान्छेसहित धरहरा ठुन्कियो, ऐतिहासिक दरबार, विश्वसम्पदा सूचीमा सूचीकृत पुरातात्त्विक  धरोहरका साथै परिश्रमको पसिना बगाएर कमाएको धनले बनाएका घर धुलीसात भए । 

भूकम्प नियमित आकस्मिकताजन्य प्राकृतिक घटना हो । यो बाढी, पहिरो, आँधी बेहरीझैँ विनाशकारी हुन्छ । बाढी पहिरोको पूर्वसङ्केत पाइन्छ तर भूकम्प सुटुक्क आउँछ, तबाह मच्चाउँछ र एकछिनमै हराउँछ यद्यपि यसका साना ठूला परकम्प केही दिन आउने गर्छन् । तिनैको अध्ययन गरेर भू–वैज्ञानिकले भूकम्पको वैज्ञानिक व्याख्या गरेर यसको आगमन चक्रको विश्लेषण गरेका छन् । भूकम्प यही दिन र यही बेला आउँछ भनेर ठोकुवा गर्न नसके पनि सम्भाव्य दशक/शतकबारे सूचना दिन सक्ने भएका छन् । तथापि यसबाट जिउधनको क्षति कम गर्न आवश्यक सचेतता र सावधानीबारे ज्ञान तथा सूचना र भूकम्पबारे समग्र ज्ञान दिने पुस्तक नेपालीमा अभावै छ । त्यही आवश्यकतापूर्ति गर्ने गरी २०७२ को भूकम्पको सात वर्षपछि हालै ‘बहत्तर सालको भूकम्प’ भन्ने पुस्तक प्रकाशन भएको छ । यसका लेखकहरू प्रा.डा. तारानिधि भट्टराई, डा. निमानन्द रिजाल, इ. किशोर थापा रहनु भएको छ । पन्ध्र अध्यायमा प्रबन्धित यस पुस्तकको सुरुदेखि अध्याय चारसम्ममा भूकम्पसम्बन्धी वैज्ञानिक अवधारणका साथै नेपालको भौगर्भिक संरचना तथा यस मुलुकमा विगतदेखि विसं. २०७२ सम्मका भूकम्पको वर्णन गरिएको छ । २०७२ को भूकम्पबाट हुन गएको जनधनको विनाश र तत्काल गरिएको उद्धार तथा राहत वितरणको विवरण प्रस्तुत छ । 

पुस्तकमा भूकम्प के हो र यो कसरी आउँछ ? कस्तो भौगर्भिक अवस्थितिमा भूकम्प बढी आउँछ ? भूकम्प कति प्रकारका हुन्छन् ? जस्ता धेरै प्रश्नको उत्तर भू–वैज्ञानिक आधारमा दिनुका साथै नेपालको भौगर्भिक संरचनाबारे प्लेट टेक्टोनिक अवधारणाका आधारमा सचित्र विवेचना गरिएको छ । नेपालमा सुदूर अतीतका भूकम्पको पुष्टि गर्ने विभिन्न प्रमाण (चट्टान तथा जमिनमा परेका चिरा, जमिनभित्र मिसिएको गेगरान, बाहिरी सतहमा पाइने वस्तु उत्खननको गहिराइमा पाइनु आदि) का साथै पोलियोसेस्मिक अध्ययनका आधारमा भू–वैज्ञानिकद्वारा गरेका अध्ययनलाई नेपालको परिप्रेक्ष्यमा विश्लेषण गरिएको छ । यिनै अवधारणाका आधारमा यस पुस्तकले करिब पाँच हजार वर्षअघिदेखि नै नेपालमा भूकम्प गएको पुष्टि भएको देखाएको छ । गहन अध्ययन अनुसन्धान गर्ने हो भने नेपालको भूकम्पीय इतिहास अझै पुरानो युगसम्म तन्कने ठोकुवासमेत गरिएको छ । 

पुस्तकको मुख्य विषय २०७२ सालको भूकम्प भए पनि यसमा पृष्ठभूमिका रूपमा आठ सय वर्षअघिदेखिका भूकम्पका धक्काको माप (रेक्टर स्केल), पाएसम्मका तथ्य र घटनाको उल्लेख छ । विसं. १३१२, १४०१, १५६२ का भूकम्पबारे तथ्यहरू नपाइने नै भयो तर चाहेजस्ता तथ्य/तथ्याङ्कको अप्राप्तिले होला १९२३ को भूकम्पको संक्षिप्त वर्णन मात्र छ, तर ती सबै भूकम्पको माप (रेक्टर स्केल) भने उल्लिखित छन् । यसले हाम्रो मुलुकको सम्झँदै आङ जिरिङ्ङ पार्ने भूकम्पीय जोखिमको सूचना प्रवाहित गरेको छ । २०३७ र २०४५ का भूकम्पले गरेको जनधनको क्षति, उद्धार तथा राहत वितरणको भने यथोचित वर्णन गरिएको छ ।

पुस्तकमा दरबारको ढोकामा दुईतिर बसेका सैनिकझैँ भीमसेन थापाले बनाएका जोर धरहरा (एउटा लगन टोलमा र अर्को सुनधारामा) को दुर्लभ तस्बिर पनि छ । ती दुईमध्ये लगनतर्फको धरहरा १८९० को भूकम्पमा परेर भूमिसात् भएको हुँदा त्यसको मर्मत नगरिएको, सुनधारामा अवस्थित धरहरामा केही कम क्षति भएकाले तला घटाइ मर्मत गरिएको थियो । त्यसलाई पनि १९९० को भूकम्पले ढालेपछि पछिल्लो पुस्ताका लागि चिनो हुन्छ भनी अझै बामपुड्के पारेर जोगाइएको थियो । २०७२ को त्यस बिचरालाई पनि भूकम्पले उठ्नै नसक्ने गरी ठुन्क्याएपछि वर्तमान पुस्ताका हामी नै त्यो ऐतिहासिक धरहरा देख्ने र चढ्ने अन्तिम पुस्ता हुन पुग्यौँ ।  कसैलाई लाग्ला अहिले बनाएको धरहरा धरहरा होइन र ? यो पुनर्निर्माण गरेको धरहरा होइन, नव निर्मित हो । यसमा हाम्रो मौलिक प्रविधि र सामग्रीको प्रयोग भएको छैन । भीमसेन थापाले मौलिक प्रविधि र चुनासुर्की आदि सामग्रीको प्रयोग गरी बनाएको र बेला बेलाका भूकम्पका धक्का खाएर भए पनि जेनतेन बचेको÷बचाएको धरहरा जसले हामीलाई मौन खडा भएर भूकम्पबारे सचेत हुन अपिल गर्दथ्यो; दुःखका साथ भन्नु पर्छ– त्यो पुरातात्त्विक  महत्व बोकेको ऐतिहासिक धरहरा त २०७२ वैशाख १२ गते दिनको ११:५५ पछि इतिहासको गर्भमा बिलाइसक्यो । २०७२ को भूकम्पमा स्वदेशी आठ हजार ९७० र विदेशी ८० गरी जम्मा नौ हजार पचास जनाले ज्यान गुमाएको, १९५ जना बेपत्ता भएको र बाइस हजार ३०२ जना घाइते भएको तथ्य पुस्तकमा दिइएको छ । बेपत्ता भएकाको पछि पत्ता लाग्यो लागेन ? यसबारे पुस्तक मौन छ । हुन सक्छ ती अझै बेपत्ता नै होलान् !

जुनसुकै प्राकृतिक विपत्पछि पनि सर्वसाधारण नै बढी आहत हुन्छन् । यस विनाशकारी भूकम्पले पनि सर्वसाधारण नै बढी प्रभावित भएको कुरा पुस्तकले देखाएको छ । आठ लाख छैँसठ्ठी हजार २०७ निजी घर कामै नलाग्ने गरी भत्केका, ४५ हजारभन्दा बढी घर प्रबलीकरण गरेपछि मात्र बस्नयोग्य हुने तथ्यले यसको पुष्टि गर्छ । त्यस्तै नौ हजार ७२ विद्यालय, ३९ कलेज र ५४४ स्वास्थ्य संस्था भवन कामै नलाग्ने गरी भत्केको तथ्य प्रकाशित छ । विद्यालयका ५४ हजार ५८९ कक्षाकोठा भत्केका देखिन्छन् । सयौँको सङ्ख्यामा अनमोल ऐतिहासिक, धार्मिक सांस्कृतिक सम्पदा, दर्जनौँ सरकारी भवन, सुरक्षा निकायका भवन, गाउँपालिका भवन, बाटो, खानेपानी तथा विद्युत् गृहका संरचना आदि भत्केका देखिन्छन् । विभिन्न ठाउँमा गरी चार हजार ७२० परिवार बसोबास गर्दै आएका २९९ वटा बस्ती नै तहस नहस भएको हुँदा स्थानान्तरण गर्नुपर्ने विवरणात्मक तालिका देखाइएको छ । 

पुस्तकको अध्याय पाँचपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन र पुनर्निर्माण कार्यको सविस्तार वर्णन/विवेचना छ । पुनर्निर्माणका लागि विभिन्न देश र दातृ निकायले दिएको सहयोगसँगै सरकारी नीति, ऐन कानुन निर्माणमा ढिलाइ र जटिलता तथा राजनीतिक दाउपेचका कारण पुनर्निर्माणमा आएका झमेला, मुलुकको भौगोलिक विकटताजन्य समस्या, राष्ट्रिय ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा प्राधिकरणलाई परेका विविध कठिनाइ आदिको विशद चर्चा÷विवेचना गरिएको छ । यसमा उल्लिखित तथ्य, तथ्याङ्क, अवधारणा, चित्र, तालिका, विवरण आदि सप्रमाण देखिन्छन् । पाठभित्रको पाद टिप्पणी तथा पाठ टिप्पणी र अन्त्यमा दिएको सन्दर्भ सामग्री सूचीबाट यसको पुष्टि हुन्छ । यस आधारमा प्रस्तुत कृतिलाई भूकम्पसम्बन्धी एक प्रामाणिक ग्रन्थभन्दा अत्युक्ति हुँदैन । 

यहाँ एउटा यस पङ्क्तिकारको मनमा बिझाएको कुरा पनि लेख्न मन लाग्यो । ऐतिहासिक सम्पदालाई पुनर्निर्माण गर्दा तिनको मौलिक स्वरूप फरक नपर्ने गरी आरम्भिक मौलिक सामग्रीले नै बनाइनुपर्नेमा मुलुकको शिक्षाको गौरवशाली जिउँदो इतिहास बोकेको दरबार हाइस्कुलको पुनर्निर्माण गर्दा दुई तला थपेर चारतले किन बनाइयो ? भुइँको र पहिलो तलामा दरबार स्कुलकै मौलिक स्वरूप छ तर थपेका दुई तलाको स्वरूप किन भिन्न छ ? यस्तो किन गरियो ? कसको सल्लाह सुझावमा गरियो ? सबैका लागि जिज्ञासाको विषय हो । सम्बद्धले उत्तर दिनु आवश्यक छ । ४०४ पृष्ठ रहेको यस पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो । यसको मूल्य भने ८७५ रुपियाँ रहेको छ ।