काठमाडौं, वैशाख १५ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थान कब्जा गर्ने योजनामा रहेको थ्रीस्टार क्लबलाई न्युरोड टिम (एनआरटी) को नमिठो धक्का लागेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टार एनआरटीसँग १-० गोलले स्तब्ध भयो । टोलीका अनुभवी खेलाडी सन्तोष साहुखल पेनाल्टीमा चुकेपछि थ्रीस्टारले हार खेपेको हो ।
एनआरटीका लागि सञ्जीव विष्टले गोल गर्नुभयो । सञ्जीवले ३७औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । यसअघि थ्रीस्टारका सन्तोष ३५औँ मिनेटमा पेनाल्टीमा चुक्नुभएको थियो । उहाँको प्रहार बाहिरिएको थियो ।
डिबक्स भित्र एनआरटीका गौरव श्रेष्ठले पिटर सेगुनलाई लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । जितसँगै १३ खेलबाट १६ अङ्क बनाएको एनआरटी आठौँ स्थानमा उक्लिएको छ ।
पराजित थ्रीस्टारले शीर्षस्थानमा उल्कने मौका गुमाएको छ । लिगमा तेस्रो हार खेपेको थ्रीस्टार समान खेलबाट २२ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।