• ५ वैशाख २०८१, बुधबार

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

blog

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया उपनिर्वाचनको निर्वाचन परिणाम प्रतिवेदन पेस गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौं, वैशाख १५ गते । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा कार्यवाहक राष्ट्रपति यादवले निर्वाचन सम्पन्न गरी संवैधानिक र कानुनी दायित्व पूरा गरेकामा आयोग र सम्बद्ध सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएको अवगत गराउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, आयोगका सचिव गोर्कणमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायत सहभागी हुनुहुन्थ्यो । निर्वाचनको परिणाम सार्वजनिक भएको एक साताभित्र सो प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । रासस