• १३ असोज २०८१, आइतबार

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख १५ गते । ओखलढुङ्गामा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच हुने भएको छ । चिशंखुगढी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै जिल्लामा अब मापसे परिक्षण हुने भएको हो । 

सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न र दुर्घटना न्यूनिकरणका लागि एक लाख ३९ हजार बराबरको एक थान ब्रेथलाईजर मेसिन खरिद गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । 

मापसेका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्न गाउँपालिकाले ट्राफिक प्रहरीलाई ब्रेथलाईजर मेसिन उपलब्ध गरिएको अध्यक्ष शर्माको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख होमबहादुर खतिवडालाई कार्यालयमै पुगेर ब्रेथलाईजर मेसिन हस्तान्तरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण तथा कारवाही गर्नका लागि ब्रेथलाईजरको आवश्यकता बुझेर चिशंखुगढी गाउँपालिका अध्यक्ष शर्माले सहयोग गर्नुभएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खतिवडाले धन्यवाद व्यक्त गर्नुभएको छ । जिल्लामा ट्राफिक प्रहरीलाई मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिनको अभाव थियो ।