• १३ साउन २०८१, आइतबार

एफएओबाट कृषि सहकारी पुरस्कृत

blog

काठमाडौँ, वैशाख १५ गते ।  संयुक्त राष्ट्रसङ्घको खाद्य र कृषि सङ्गठन (एफएओ)ले नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडलाई ‘वेस्ट एक्सिलेन्स पार्टनरसिप अवार्ड २०२३’ प्रदान गरेको छ ।  

विश्वभरका आफ्ना साझेदार संस्थामध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रूपमा सङ्घलाई यो अवार्ड प्रदान गरेको हो । सङ्घका अध्यक्ष खेमबहादुर पाठकले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी गराउनुभएको हो । 

नेपालमा सदस्य सहकारी सङ्घसंस्थाको क्षमता विकास, सुशासन र दिगो विकासमा सहयोग पु-याएबापत सङ्घलाई यो अवार्ड प्रदान गरेको अध्यक्ष पाठकले जानकारी गराउनुभयो । इटालीको रोममा आयोजना गरिएको एक विशेष समारोहमा सो अवार्ड प्रदान गरिएको हो । १० हजार डलरसहित सम्मानपत्रबाट सम्मानित गरिएको हो । अवार्ड सङ्घका अध्यक्ष पाठक र महाप्रबन्धक रुद्र भट्टराईले ग्रहण गर्नुभएको थियो । 

अध्यक्ष पाठकका अनुसार एफएओले प्रदान गर्ने यो अवार्ड नेपालले पहिलो पटक प्राप्त गरेको हो । नेपालका ७७ जिल्लामा सञ्जाल रहेको सङ्घमा एक हजार २१५ वटा संस्था आबद्ध छन् । करिब ११ लाख घरपरिवारका ५० लाखभन्दा बढीको बीचमा सेवा पु-याइरहेको दाबी गरिएको छ । जसमा ८२ प्रतिशत महिला रहेको सङ्घले दाबी गरेको छ । जङ्गलमा बस्ने राउटे, कुसुन्डा, वनकरिया, भूमिहीन मुसहर, लोपोन्मुख, अति विपन्न समुदायलाई गोलबन्द गर्दै सहकारीमार्फत कृषि उत्पादन बढाउन र बजारीकरणमा सेवा प्रदान गर्दै आएको अध्यक्ष पाठकले बताउनुभयो ।