• १३ साउन २०८१, आइतबार

डाबर नेपालले नौ अर्ब ६८ करोड लगानी थप्ने

blog

काठमाडौँ, वैशाख १५ गते । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपियाँ पुनर्लगानी गर्ने भएको छ । उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणका लागि कम्पनीले लगानी थप गर्न लागेको हो । लगानी थपसम्बन्धी समझदारीपत्रमा बिहीबार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले हस्ताक्षर गर्नुभएको छ ।  डाबर नेपालको क्षमता अभिवृद्धि तथा विविधीकरणसम्बन्धी परियोजनाका लागि लगानी बोर्डको २०७८ माघ २५ गतेको ४९औँ बैठकले स्वीकृति दिएको थियो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डाबर नेपालको पुनर्लगानीले नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमै लगानी गरिरहेका लगानीकर्ताबाट सञ्चालित व्यवसाय हेरेर निर्णय गर्न सक्ने धारणा राख्नुभयो । 

समझदारीपत्रमा हस्ताक्षरपछि बोर्डका प्रमुख भट्टले डाबरको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको सम्भावनालाई देखाएको बताउनुभयो । त्यस्तै डाबर नेपालका वेदीले नेपालबाट गरेको आम्दानीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।