• १३ असोज २०८१, आइतबार

अर्थतन्त्रको शिथिलता अहिलेको समस्या हो : अर्थमन्त्री डा. महत

blog

कोशी प्रदेशस्तरीय कार्यक्रममा धारणा राख्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : मन्त्री महतको निजी सचिवालय

विराटनगर, वैशाख १४ गते। अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो।

अर्थमन्त्री महतले भन्नुभयो, ‘‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ।अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो।मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ।राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ।एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरेको हो।कति कसिकसाउ गर्नुपर्ने थियो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो ।’’ 


ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ।ब्याजदरले बजारमा पूँजी प्रवाह भइरहेको छैन।मौद्रिक नीतिमार्फत बजारमा पूँजी प्रवाह गर्न जरुरी छ।यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा. महतको भनाइ छ।

‘‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून छ।अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ।यसको प्रभावकारितालाई बढाउन जरुरी छ।हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ।सबै क्यिलयरेन्स नभइ ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसेर काम अगाडि बढ्दैन’’, उहाँले भन्नुभयो।

वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न सकेका छैनन्।त्यसले गर्दा पूँजीगत खर्चमा समस्या आएको उहाँले बताउनुभयो। अबका आयोजनामा यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ।

मन्त्री महतले भन्नुभयो, ‘‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ।समस्याका धेरै पाटा र चाङ छन्।समस्या समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन।समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु।कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु ।’’ 

अर्थमन्त्री महतले राज्य संयन्त्रमा देखिएका समस्यालाई स्वीकार गर्दै समाधान खोज्नु जरुरी रहेको बताउनुभयो।मन्त्री डा. महतले भन्नुभयो, ‘राज्य संयन्त्रमा समस्या छन्, यी समस्यालाई सम्बोधन गर्न र समस्या स्वीकार गर्न मलाई कुनै हिचकिचावट छैन।यी समस्यालाई हटाउने सुरुवात  जरुरी छ।०४६ सालको परिवर्तनपछि देशमा धेरै कुरा भएको छ।अहिले सामाजिक सञ्जालको समय छ, संसार सबैको हात–हातमै छ।हामी कुन आधारबाट अघि बढ्यौं, त्यो सुन्ने धैर्यता कसैलाई छैन।अरु देशमा यो भइसक्यो, नेपालमा किन नभएको भन्ने चासो सबैलाई छ, हामी कहाँबाट आयौं, त्यो कसैलाई चासो छैन।त्यो अनुसारको परिणाम हामीलाई नेपालको राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न गरिरहेका छन् ।’’

अर्थतन्त्रका चुनौतीलाई पार गर्न संयम भएर काम गर्नु आवश्यक भएको उहाँको भनाइ छ। ‘‘यो चुनौती पार गर्नका लागि हामी संयम भएर काम सुरुवात गर्नैपर्छ।अब हामी कुरा कम र काम ज्यादा गर्नुपर्छ।निजी क्षेत्रले आफ्नो समस्याको जगमा पुगेर बुँदागत रुपमा कारण र नतिजा उल्लेख गर्नुहोस् अब यी कुरा हटाउनुपर्छ भन्ने सुझाव सल्लाह दिनुहोस्’’, अर्थमन्त्री महतले भन्नुभयो, ‘‘औद्योगिक प्रारम्भ भएको ठाउँ हो विराटनगर।प्रतिनिधिमुलक सल्लाह सुझाव हुन्छ भनेर म यहाँ आएको हुँ।प्रत्यक्ष रुपमा सल्लाह सुझाव राख्न नसक्ने साथीका लागि यहाँका प्रतिनिधिमूलक संस्थाबाट ती विचार र सुझावको प्रतिनिधित्व भएको छ भन्ने मलाई विश्वास छ ।’’

यो पनि पढ्नुहोस