• १३ असोज २०८१, आइतबार

कामका आधारमा कर्मचारीको मूल्याङ्कन हुनेछ : अर्थमन्त्री डा.महत

blog

विराटनगर भन्सार निरीक्षणका क्रममा कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै मन्त्री डा. महत ।

विराटनगर, वैशाख १४ गते । कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उहाँले निर्देशन दिनुभएको छ । बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो, ‘‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ, तपाईँहरूले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ ।’’


‘‘कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठ देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन । तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु ।’’


डा. महतले भन्नुभयो, ‘‘समग्रमा हामी पारदर्शीका साथ हामी काम गरौँ, सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गरौँ, नियम, कानुनमा उनीले तिर्नुपर्ने कुरा छ भने उनीहरूले तिर्नुपर्छ । हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउँछ, कामभन्दाबाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तलमाथि लैजाने र ल्याउने काम गर्दैन । जिम्मेवारी बहन एउटै मात्र आधार हो । यही अनुरूप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरूलाई अनुरोध गर्छु ।’’