• १३ साउन २०८१, आइतबार

व्यवसायीको मनोबल बढाउन जोड

blog

काठमाडौँ, वैशाख १४ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले मन्त्री भण्डारीलाई भेट गरी विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो । 

परिसङ्घका अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचनका कारण उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताउनुभयो । उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारण उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । अग्रवालले हालको अवस्था थप लम्बिएमा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभयो ।

भेटका क्रममा अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चिँदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतका विषयमा परिसङ्घले जोड दिएको छ । यसैगरी परिसङ्घले श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एन्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ ।