• १३ साउन २०८१, आइतबार

अर्थतन्त्रका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत

blog

अर्थमन्त्री डा.प्रकाशशरण महत ।

काठमाडौं, वैशाख १३ गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ। 

बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताउनुभएको हो। 

उहाँले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायको विषयमा अनुसन्धान गरेर सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्ता पक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको बताउनुभयो। 

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको दाबी गर्नुभयो। उहाँले सदनमा सदस्यले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको बताउनुभयो। 

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार गर्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गर्नुभयो। 

अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको लागि सबैले धैर्यता गर्न आवश्यकता पर्ने बताउनुभयो। उहाँले शिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गर्नुभयो। उहाँले सरकार सम्पूर्ण रूपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टी भन्दा माथि उठेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

अर्थमन्त्री डा.महतले मन्त्री भएको एक महिनामा अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताउनुभयो। उहाँले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो। उहाँले अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत कडाइ गर्दा बैङ्कको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयात प्रतिबन्ध लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताउनुभयो। उहाँले सरकारको पुँजीगत खर्च कम हुने प्रवृत्ति यो वर्ष पनि कायम भएको र दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि समस्या भएको बताउनुभयो।

अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैङ्कको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताउनुभयो। उहाँले बजार सङ्कुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताउनुभयो। उहाँले अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैङ्कको ब्याजदरमा बैङ्कले पुनः विचार गर्ने र मौद्रिक नीतिका यन्त्र प्रयोग गरेर शेयर बजार र अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो।