• १३ साउन २०८१, आइतबार

बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय थपियो

blog

काठमाडौँ, वैशाख १३ गते । तोकिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पुर्‍याउन नसक्ने बिमा कम्पनीहरूका लागि समय थपिएको छ । अधिकांश बिमा कम्पनीहरूले तोकिएबमोजिमको चुक्ता पुँँजी पुर्‍याउन नसक्दा नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको हो ।

गत चैत महिनामा बिमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणले २०७९ चैत मसान्तसम्म जीवन बिमा कम्पनीहरूलाई न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रुपियाँ र निर्जीवन बिमा कम्पनीलाई दुई अर्ब ५० करोड रुपियाँ कायम गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी बिमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ लाई दोस्रो पटक संशोधन गर्दै कम्पनीहरूलाई २०८० असार मसान्तसभित्र तोकिएको चुक्ता पुँजी पुर्‍याउने म्याद थपेको हो ।

निर्देशिकाअनुसार २०७९ साल चैत मसान्तभित्र चुक्ता पुँजी कायम गर्न नसक्ने बिमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले निर्देशिकाबमोजिमको चुक्ता पुँजी २०८० साल असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्ने भएको छ ।

तोकिएको समय सीमाभित्र चार बिमा कम्पनीले मात्रै तोकिएबमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्‍याएका छन् भने अधिकांशले पुँजी पुर्‍याउन नसकेपछि प्राधिकरणले समय थप गर्ने सुविधासहित निर्देशिका संशोधन गरेको हो ।