• १३ साउन २०८१, आइतबार

गुणस्तरीय मिनरल वाटर निर्यातका लागि तयार

blog

काठमाडौँ, वैशाख १३ गते  । नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर मापदण्ड तयार भए पनि मिनरल वाटरको गुणस्तर निर्धारण र सोसम्बन्धी गुणस्तर मापदण्ड पारित भएको थिएन । 

विभागको हालै भएको गुणस्तर परिषद्को १०८औँ बैठकले पानीको गुणस्तर मापदण्ड पारित गरेको हो । पानीको गुणस्तर तयार भए पनि निर्यात गर्न व्यवसायीलाई सहज हुने भएको छ । 

विभागका प्रवक्ता ज्योति जोशी भट्टले मिनरल वाटरको गुणस्तर तयार गरी पारित गरिएको जानकारी दिनुभयो । पानीको गुणस्तर तयार भएपछि यसको आधारमा विभागले सर्टिफिकेट उपलब्ध गराउने हुँदा व्यवसायीलाई पानी निर्यात गर्न सहज हुने उहाँको भनाइ छ । पानीको गुणस्तर मापदण्ड पारित भएसँगै पानीको निर्यात गरेर विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

पानीको गुणस्तर तयार भएसँगै व्यवसायीले विभागबाट गुणस्तर (एनएस) चिह्न प्राप्त गर्नेछन् । पानीको गुणस्तर हुँदा निर्यात गर्न सहज भई पानीको विश्वसनीयतासमेत कायम हुने विभागले जनाएको छ । 

विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ । 

विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई उद्योग, वाणिज्यमन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको छ ।

विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुन सकेका छैनन् । विभागले दैनिक उपभोग्य वस्तुदेखि सिमेन्ट, पाइप, रेगुुलेटरलगायतका अन्य सामानको गुणस्तर निर्धारण गर्ने गर्छ । 

नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा १५ गुणस्तर पारित गरेको थियो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३७ करोड ५२ लाख ५० हजार रुपियाँ बराबरको नौ लाख ९१ हजार ८१४ लिटर पानी निर्यात भएको छ । नेपालबाट न्यून परिमाणको पानी निर्यात भए पनि ठूलो मात्रामा विदेशबाट नेपालमा पानीको आयात हुने गर्छ ।