• १३ साउन २०८१, आइतबार

समयमै व्यवस्थापन हुन नसक्दा बहुमूल्य काठ कुहिँदै

blog

सप्तरीको डिभिजन वन कार्यालयमा घाटगद्दीमा राखिएका काठको हैसियत बिग्रिदै । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, बैशाख १२ गते । डिभिजन वन कार्यालय सप्तरी अन्तर्गत रहेको विभिन्न सब-डिभिजन वन कार्यालयले चोरी निकासीको क्रममा बरामद गरेका काठ समयमै व्यवस्थापन गर्न नसक्दा कुहिन थालेको छ । जिल्लाका विभिन्न सब-डिभिजन वन कार्यालयमा घाट गद्दी गरेर राखिएका अधिकांश काठ कुहिएर माटोमा परिणत भइरहेको छ ।

यी काठ विगत वर्षदेखि लिलामी प्रक्रिया अगाडि नबढेका कारण अधिकांश काठ कुहिएर माटोमा परिणत हुँदैगएको डिभिजन वन कार्यालय सप्तरीका डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले बताउनुभयो । 

रुपनी, कल्याणपुर, दौलतपुर, महुली र कञ्चनपुर सब-डिभिजन वन कार्यालय मातहत रहेका  सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट चोरी निकासीका क्रममा काठ बरामद भएपछि लामो समयसम्म अलपत्र छ । अधिकांश चिरानमा साल, आसन, कर्मा, कुकाठ, आँप र गोलियामा मसला, सिसो, साल, जिलेबी, कदम जातका काठको मुद्दा किनारा नलागेकाले बरामद प्रक्रिया ढिलो भएको सो कार्यालयको भनाइ छ ।

डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीका अनुसार सप्तरीमा २१ हजार १३६ क्षेत्रफलमा रहेको वनमध्ये २० हजार ३६२ क्षेत्रमा सात सय ७७ घाँसे मैदान रहेको रेञ्जर  साफीले जानकारी दिनुभयो । 

रुपनी सब-डिभिजन कार्यालयमा चिरान काठ ५३० थानमा ३४६ दशमलव ६७ क्युफिट र गोलिया काठ १५७ थानमा ४६० दशमलव ५७ क्युफिट, कञ्चनपुर सब-डिभिजन कार्यालयमा चिरान काठमा ३६ स्थानमा ३० दशमलव ०१ क्युफिट र गोलिया काठमा ५४६ थानमा ४७९ दशमलव २० क्युफिट, दौलतपुर सब-डिभिजन कार्यालयमाचिरान काठमा १८ थानमा १६ दशमलव १८ क्युफिट, कञ्चनपुर सब-डिभिजन कार्यालयमा चिरान काठमा २५३ थानमा २२३ दशमलव ३ क्युफिट र मह्ली सब-डिभिजन कार्यालयमा चिरान काठमा ३४३ थानमा २२ दशमलव ३१ क्युफिट र गोलिया काठमा ६ थानमा ५४ दशमलव ०४ क्युफिटसहित जम्मा चिरान काठ ६३८ दशमलव ४७ क्युफिट र जम्मा गोलिया काठ ९३८ दशमलव ४७ क्युफिट काठको हैसियत बिग्रिएको अवस्थामा रहेको बताउनुभयो ।