काठमाडौं, वैशाख १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो ।
घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद् सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद् सचिवालयमा दिएकाले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको ब्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’’
श्रेष्ठ रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।