• १३ साउन २०८१, आइतबार

हिमानदीकाे पुल भत्काएर बनाइने

blog

दुई जिल्ला जोड्ने हिमा नदीमाथिको ढलानपछि चर्किएको पुल फुटाइँदै । तस्बिर: प्रेमराज

कालीकोट, वैशाख १२ गते । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाढीले पुलको बीच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बीचभागबाट चर्किएका कारण पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ । 

सूर्य कन्स्ट्रक्सन प्रा.लिले आर्थिक वर्ष २०७५/०७६ मा सम्झौता गरेको पुल निमार्णमा उसै पनि ढिला भइरहेको थियो । तीन वर्षमा सक्नु पर्ने पुल म्याद थप गरेर निर्माण गरिरहेका बेला ढलान चर्किएका कारणले अझै ढिलाइ भइरहेको छ । कमसल निर्माण सामाग्रीको प्रयोगका कारणले पुल निर्माण नसकिँदै चर्किएको भन्दै  विरोध भएपछि निर्माण कम्पनीले पुनर्निर्माण गर्न अहिले पुल भत्काइरहेको छ । 

निर्माण कम्पनीका प्रतिनिधि दीपक खड्काले पुल निर्माणमा कमजाेर सामानभन्दा पनि जोखिम ठाउँका कारणले समस्या आएको बताउनुभयो । हामीलाई घाटा खान रहर होइन, पुलको ढलानपछि बाढीले तल राखेका टेका बगाएका कारणले पुल चर्किएकाले पुनर्निर्माण गर्नुपरेको बताउनुभयो । उहाँले ३६७ घनमिटर ढलान फुटाउनुपरेको र ४० टन सरिया खेर गएकाले आफ्नो सबै गरी तीन करोडको क्षति भएको सुनाउनुभयो । 

सुरुमा स्थानीय राजेन्द्र महताराले आफ्नो कम्पनी प्रयोग गरेर ठेक्का पार्नुभएको हो । उहाँले काम गर्न नसकेका कारणले कम्पनी  कालोसूचीमा नपरोस् भनेर हामीले आफै घाटा खाएर काम सुरु गरेको भए पनि बीचमा विपदले पुलमा क्षति पुगाएका कारणले झन् ढिलाइ भएको बताउनुभयो । अब जसोतसो हामी मापदण्डमा रहेर काम गर्ने र सडक डिभिजन कार्यालयले ठेक्काको सम्झौताको समय थप नगरे पनि हर्जाना तिरेर भए पनि काम सम्पन्न गर्ने निर्माण व्यवसायी खड्काको भनाइ छ ।

Author

प्रेमराज सिम्खडा